उदयपुर / उदयपुरमा एक बालकको मंगलबार बेलुका पोखरीमा डुबेर ज्यान गएको छ । त्रियुगा नगरपालिका २ स्थित मिलन चौकका स्थानीय चन्द्रबहादुर मगरले माछा पालनका लागि बनाएको पोखरीमा डुबेर सोही वडाका केदार पाण्डेका ३ वर्षीय छोरा रोशन पाण्डेको ज्यान गएको हो ।
बिहानदेखि वेपत्ता भएका बालकलाई आफन्तले साँझ पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
सामान्य श्वासप्रश्वास चलिरहेको अवस्थामा फेला परेका बालकलाई प्रहरी चौकी जोगिदहको सहयोगमा स्थानीयले उपचारका लागि जिल्ला अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको डीएसपी भाटले बताए ।
यता मृतकका आफन्तले भने शव पोष्टमार्टम गर्न मानेका छैनन् । मापदण्ड विपरित घेराबेरा नलगाई पोखरी सञ्चालनमा ल्याएकाले सञ्चालकलाई समेत कारवाहीको दायरामा ल्याउनुपर्ने बालकका आफन्त बोधिका पाण्डेले बताइन् ।

तपाईको प्रतिक्रिया