विराटनगर । बलात्कार आरोपी सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न उच्च अदालत विराटनगरले बिहीबार आदेश दिएको छ । तीन लाख रुपैयाँ धरौटी लिएर छाड्न जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पुस १४ गते दिएको आदेश बदर गर्दै उच्चले जवरजस्ती करणी मुद्दामा थुनामा राख्न आदेश दिएको हो । उच्चका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको आदेश बदर गरिदिएको हो । उक्त आदेश विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए ।
यस्तै उच्च अदालत विराटनगरमा आफू विरुद्धको जवरजस्ती करणी मुद्दाको सुनुवाई चलिरहेका सिद्धबाबा भने बिहीबार दिउँसो भारत फरार भएका छन् । सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई नेपाल–भारत सीमा क्षेत्रबाटै फिर्ता पठाइदिएर विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ फरार भएका हुन् । सिद्धबाबा आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर भारत तर्फ फरार भएका हुन् ।
केही समर्थक र अयुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँडेका थिए । अदालत नपुगिकन सिधै जोगवनी हानिएका उनले दिउँसो १ बजे सीमा पुगेका हुन् ।
‘हामी एकक्षण पारी पुगेर आउँछौं भन्दै निजी सुरक्षा गार्ड प्रहरी हवल्दार मुकेश साहलाई सीमामा ओरालेर केही अनुयायीका साथमा सिद्धबाबा भारततिर गएको पाइयो,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले भने, ‘उनी किन उता लागे भन्ने बारेमा यकिन भइसकेको छैन ।’ स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली गएको स्रोतले बतायो । सिद्धबाबा एक साता पहिले पनि उपचारका लागि भन्दै भारत पुगेर फर्किएका थिए । त्यसकै ‘फलोअप’का लागि फेरि गएको उनी निकट स्रोतले बतायो । उनी भारततर्फ जानुलाई अर्थपूर्ण रुपमा हेरिएका बेला अदालतको आदेश पनि उनी अनुकूल आएन ।
स्रोतकाअनुसार आफ्नो पक्षमा आदेश आएमा नेपाल फर्किने र विपक्षमा आएमा भारततिरै रहने हिसाबको तयारी सिद्धबाबाले गरेका थिए ।
दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि बिरामी भएको भन्दै सिद्धबाबा मंसिर १२ गतेबाट विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा भर्ना भएका थिए । उपचारका क्रममा ३८ दिनसम्म अस्पतालमा रहेका उनले अनुसन्धान अवधिमा अस्पतालमै गुजारेपछि प्रहरी हिरासत बस्न परेन । उजुरी दर्ता भएको बाहिरिएपछि छात्ती, मुुटु, प्रोस्टेट र पत्थरीको समस्या देखाउँदै कृष्णबहादुर अस्पताल भर्ना भएका थिए । अवस्था गम्भीर बनेको भन्दै उनलाई आईसीयूमा पनि भर्ना गरियो ।
प्रहरीले मंसिर १६ गते आईसीयूदेखि नै पक्राउ गरेर अदालतबाट म्याद थप गर्दै घटनाको अनुसन्धान अघि बढाएको थियो । उनलाई अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डा। ज्ञानेन्द्र गिरीले ‘माइनर हटअट्याक’ भएको बताउँदै उपचार गरेका थिए । अस्पतालबाट पुस २० गते डिस्चार्ज भएपछि कृष्णबहादुर सिधै चतरास्थित आफ्नो आश्रममै पुगेका थिए ।

तपाईको प्रतिक्रिया