राजेन्द्र महतो, लहान । जन्ती बोकेर हिडेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पुर्व–पश्चिम् राजमार्ग अन्तर्गत सिरहको गोलबजार नगरपालिका– ७ मा शनिवार दिउँसो जन्ती बोकेर हिडेको ट्याक्टर दुर्घटना हँुदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका हुन् ।
धनगढीमाई नगरपालिकाबाट कर्जन्हा नगरपालिकाको लागि जन्ती जाँदै गरेको स १ त ६५६० नम्वरको डिजे बोकेको ट्याक्टर बाख्रालाई जोगाउने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा लहान नगरपालिका १३ का २२ वर्षिय सन्तोष यादव र धनगढीमाई नगरपालिका १२ का २० वर्षिय श्रीप्रसाद मण्डलको उपचारको क्रममा लहान लैजाँदै गर्दा बाटो मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा रहको ट्याक्टरले बाटो काट्दै गरेको बाख्रालाई बचाउन खोज्दा पछाडिको ट्रली पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा अन्य पाँच जना घाइते भएपनि उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।
दुवै मृतकको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ । दुर्घटना भएको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।









