उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकामा हिमालचुली क्लव पिपलभन्ज्याङको आयोजनामा १ लाख ५० हजार राशीको भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको विजेता टिमलाई १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्रदान गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्लव स्थापनको २५ औं वर्षगाँठको अवसर पारेर अहिलेसम्मको सर्वाधिक पुरस्कार राशीको ‘रजत जयन्ती भलिबल प्रतियोगिता ०७६’ आयोजना गर्न लागेको कटारीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिताका उपविजेतालाई १ लाख र सान्त्वना स्थान प्राप्त गर्ने समूहले ५० हजार रुपैयाँ नगदसहित सिल्ड र प्रमाणपत्र पुरस्कार पाउने घोषणा क्लबले गरेको छ ।
क्लबका अध्यक्ष टोपबहादुर ज्युठकुरीले प्रतियोगिता आउँदो माघ १३ देखि १५ गतेसम्म ३ दिन सञ्चालन हुनेछ । प्रतियोगितामा देशका जुनसुकै स्थानीइतह गाउँ तथा नगरपालिकाका खेलाडीले सहभागी हुन पाउने उनले बताए। तर, सहभागी हुनका लागि गाउँ तथा नगरपालिकाको सिफारिस अनिवार्य गरिएको छ । ठकुरीका अनुसार प्रतियोगितामा भाग लिनका लागि सम्बन्धित स्थानीयतहको मतदाता नामावली परिचयपत्रसहित सिफारिस लिएर आवेदन दिनुपर्ने प्रावधान राखिएको छ ।
प्रतियोगितामा भाग लिन इच्छुक खेलाडी समूहले माघ ११ गतेसम्म टिम दर्ताको आवेदन खुल्ला राखिएको छ । खेलाडी समूह दर्ता भईसकेपछि माघ १२ गते खेल तालिका (टाईसिट) सार्वजनिक गरिने खेल संयोजक हरिबहादुर हमालले बताए । जिल्लाको दुर्गम गाउँपालिका ताप्लीले पहिलो पटक ठूलो राशी पुरस्कारको पालिकास्तरीय प्रतियोगिता आयोजना गर्न लागेको गाउँपालिकाले जनाएको छ ।