उदयपुर । उदयपुरमा संघिय नमूना युवा सांसद तथा केन्द्रीय बाल संजालका निर्वतमान अध्यक्ष सुरेश गुप्ता सहित दुई जना शुक्रबार पक्राउ परेको छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्ध कसुर मुद्धामा मंसिर १९ गते पक्राउ परि प्रहरी हिरासतमा रहेका अंन्चु शेर्पालाई छुटाई दिने अभिभावकलाई ललाई फकाई विश्वास दिलाई झुक्यानमा पारी पैसा ठगी गरेको आरोपमा सुरेश गुप्ता र रुपेश दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रियुगा नगर युवा संजालका अध्यक्ष दायाँ र सचिव बाँया । तस्विर : सुरेश गुप्ताको फेसबुकबाट

३५ वर्षिय गुप्ता त्रियुगा नगरपालिका १२ पुरानो गाईघाट निवासी हुन भने २४ वर्षिय दनुवार त्रियुगा नगरपालिका ८ राजाबास निबासी हुन् । गुप्ता त्रियुगा नगर युवा संजालका अध्यक्ष हुन भने दनुवार सचिव समेत हुन् ।
गत मंसिर १९ गते कुटपिट गरेको आरोपमा पक्राउ परेका शेर्पालाई छुटाई दिए एक लाख लाग्ने भन्दै अभिभावकलाई प्रलोभनमा पारी १० हजार पेश्की लिएका थिए । पेश्की बापत रकम लिए पनि शेर्पा २५ दिन प्रहरी हिरासतमा रही जिल्ला प्रशासन कार्यालय उदयपुरमा मुद्धा चालु अवस्थामै रहने गरी करिव ५० हजार धरौटीमा छोडन आदेश दिएपछि गुप्ता र दनुवारको करतुत बाहिर आएको हो । छोरा नछुटेपछि अभिभावकले पैसा फिर्ता माग्दा पैसा छुटाउनेलाई दिई सकिएको भन्दै आनाकानी गरेपछि प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए । गुप्ता र दनुवारसँग पैसा माग्दा पैसा हामीसँग छैन हामी तपाईको छोरा छुटाउन एसपीलाई ५ हजार र सिडिओलाई ५ हजार दिएको बताउँदै पन्छिने गरेपछि उजुरीका आधारमा उनीहरुलाई पक्राउ गर्नु परेको एसपी मगरले बताए । उनीहरुलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले म्याद दिएको छ ।

तपाईको प्रतिक्रिया