उदयपुर / जिल्लामा बढ्दो लैङ्गिक हिंसा न्युनिकरणका लागि मंसिर ९ गतेदेखि १६ दिने अभियान सञ्चालन गरिने भएको छ । जिल्लास्थित विभिन्न संघसंस्थाहरुले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमको शनिबार सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईयो ।
मंसिर २४ गतेसम्म मनाईने यो अभियानमा लैङ्गिक हिंसा निवारणमा मद्धत पुग्ने गरी कार्यक्रम तय गरिएकाछन् । ‘लैङ्गिक हिंसा र वलात्कार छैन हामीलाई स्वकार’ भन्ने मुलनाराकासाथ आयोजना हुने अभियानको पहिलो दिन आईतबार सदरमुकाम गाईघाटको लोकतान्त्रिक चौकमा प्रभातफेरी गरिने छ भने समापन मंसिर २४ गते मेनचौकमा दिप प्रज्वलन गरिने छ ।
अभियानमा सचेतना र्याली, प्रथम राष्ट्रिय छोरी सम्मेलनको जानकारी, रेडियो कार्यक्रम, महिला हिंसा र बलात्कार बिषयक सडक नाटक प्रर्दशन, विभिन्न किसिमका यौनजन्य अपराध, बलात्कार, लैङ्गिक हिंसाविरुद्ध सम्बन्धी सरोकारवाल निकायसँग अन्तरक्रिया, महिला स्वास्थ्य शिविर रहेका छन् ।
त्यसैगरी अदालतबाट फैसला भई कार्यान्वयनमा नआएका बिषयमा न्यायका पंक्ष र प्रभावितहरुसँग अन्तरक्रिया, महिला मानव अधिकार रक्षक संजालका सक्रिय सदस्यलाई सम्मान, उद्यमी युवा महिलाहरुलाई महिला सशक्तीकरण बिषयक अन्तरक्रिया, बलात्कार तथा महिला माथि हुने सबैखाले यौन दुव्र्यवहारविरुद्ध अन्तरक्रिया, एचआईभि एड्स सम्बन्धि सचेतना, महिलाको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चिताका लागि पर्यावरण मैत्री नमुना गाउँ प्रर्वद्धन सम्बन्धि जिल्लास्तरीय परामर्श गोष्ठि रहेकाछन् ।
त्यस्तै निशुल्क आँखा तथा कान शिविर, अपागंता भएका व्यक्तिको समस्या बिषयक अन्तरक्रिया, मनोसामाजिक समस्या र आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यक्रम, मनोविमर्श केन्द्र उदघाटन, लैङ्गिक हिंसा न्युनिकरणमा स्वयमसेविकाको भुमिका, स्वयंमसेवकको अवसर चुनौती, आचरण, मर्यादा, स्थानीयकरण र सेवाग्राहीको सरल पहुँच स्थापित बिषयक अन्तरक्रिया रहेकाछन् ।
यसैगरी महिला हिंसा र बलात्कार बिषयक महिला समुहविच वक्तृत्वकला, प्रहरी र महिला मानवअधिकार संजालसँग अन्तरक्रिया, बालिका संरक्षण, यौन दुव्र्यवहार हत्या हिंसा न्युनिकरणका लागि प्रतिवद्धतासहित छलफल, मानवअधिकार रक्षक दिवस, अभियानको समिक्ष र उत्कृष्ट गर्नेलाई सम्मान लगायतका कार्यक्रम रहेको आयोजक संस्था आरेकका कार्यक्रम संयोजक सुमित्रा कोईरालाले जानकारी दिईन ।
अभियानले जिल्लामा बढ्दो लैङ्गिक हिंसा न्युनिकरणमा सबैको साथसहयोग रहने विश्वास गरिएको छ । पत्रकार सम्मेलनमा बोल्ने वरिष्ठ पत्रकार कौशल चेम्जोङ, गैसस महासंघका केन्द्रिय उपाध्यक्ष सृजना दनुवार, जिल्ला अध्यक्ष महेश्वरी राई, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष माया भण्डारीले देशव्यापीरुपमा बढ्दै गएको लैङ्गिक हिंसा, महिला तथा बालबालिका बलात्कार पछिको हत्या, घरेलु हिंसालाई न्युनिकरण गर्न सबैको भुमिका हुने भएकाले अभियानलाई सार्थक बनाउन आग्रह गरे । उनीहरुले सदरमुमकाम केन्द्रित मात्र नभई गाउँ तहसम्म पुर्याउन सके मात्र अभियानले सार्थकता पाउने बताए ।