सुखिलाल चौधरी, उदयपुर / नेपालीहरुको महान चाड दशै तिहार तथा छट सकिएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले अनुगमन शुरु गरेको छ । केही दिनयता जिल्ला प्रशासन कार्यालय उदयपुरकै वरिपरिका पसलहरुमा म्याद गुज्रिएको खाने तेल, च्याउ च्याउ, मैदा लगायतका अखाद्य बस्तुहरु फेला परेपछि अनुगमन शुरु गरेको हो ।
प्रशासन कार्यालयको साथै अन्य सरकारी कार्यालयको वरिपरिका पसलहरुमा म्याद गुज्रेको सामान खुल्लम खुल्ला विक्री वितरण भैरहेको भन्दै बुधबार त्रियुगा नगरपालिका १० स्थित छ वटा पसलमा अनुगमन गरेको थियो । छ वटा पसलमा अनुगमनको क्रममा म्यदा गुज्रेका थुप्रै सामानहरु बरामद गरेको थियो । जिल्ला प्रशासन कार्यालयकै वरिपरिका पसलहरुमा म्यदा गुज्रेका सामान बरामद भएपछि अनुमगन गर्ने निकाय जिल्ला प्रशासन कार्यालयमाथि प्रश्न चिन्ह खडा भएको छ । यसले के देखिन्छ भने जिल्लाको पहाडी भूभाग तथा अन्य क्षेत्रमा म्याद गुज्रेको सामान नहुने कुरै छैन् ।


जिल्ला प्रशासन कार्यालयको गेटै नजिकबाट अखाद्य वस्तु बिक्री वितरण भईरहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले चाड बाड सकिएपछि बजार अनुगमन थालेको हो । जिल्ला प्रशासन कार्यालयले अनुगमन न गरेको भन्न मिल्दैन, अनुगमनकै क्रममा कटारी नगरपालिकाका व्यपारीहरुले अनुगमनमा दुःख दियो भन्दै एक दिन बजार नै बन्द गरेर आन्दोलन गरेको थियो ।
यस्तै विहिबार गाईघाट बजारको पूरानो पेट्रोल पम्प नजिक कारोबार ठेगाना लहान रहेको सगरमाथा टेडर्सको गोदामबाट धारा खाने तेल, विभिन्न ब्राण्डका बिस्कुट, भुजा, दालमोट, मसला, आलु चिप्स, मैदा, केटा केटीले पानीमा घोलेर खाने मिस्टर कुल लगायतका म्याद गुज्रेका सामग्री छ्याप्छ्याप्ती पाइएको थियो । मैदामा किरा परेको थियो भने खानेतेल धाराको एक वर्ष अगाडी नै म्याद गुज्रेको भेटिएको थियो । श्री बाबा रिप्याकिङ्ग एण्ड सप्लायर्स विरगन्जको स्पेशल क्वालिटी ए वान मसालाको म्याद सन् २०१६ अगस्तमा सकिएपनि त्यसमाथि पुनः जय श्रीराम कम्पनीको अल इन वन वेस्ट क्वालिटी मिक्स मसालाको लेवलिङ्ग राखेर विक्री वितरण गरेको पाइएको थियो ।


यस्तै केटा केटीले पानीमा घोलेर खाने पाउडर कैजर कम्पनीको मिस्टर कुलको सन् २०१६ जनवरीमा बनेको पाउडरको म्याद सन् २०१७ जनवरीमा समाप्त भएको सामान समेत दुई कार्टुन भेटिएको थियो ।


टोलीले किराना पसल, मिठाइ पसल, दुग्ध डेरी र होटेल र पेय पदार्थ बिक्री पसलमा अनुगमन गरेको थियो । सबैभन्दा बढी किराना पसलमा म्याद गुज्रेका सामान फेला परेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खेमराज थापाले बताए । ‘म्याद नाघेका सबैभन्दा बढी सामग्री किराना पसल र गोदाममा फेला प¥यो । म्याद गुज्रेका सामग्री बरामद गरेर नष्ट गरिएको छ भने म्याद गुज्रेको श्री बाबा रिप्याकिङ्ग एण्ड सप्लायर्स विरगन्जको स्पेशल क्वालिटी ए वान मसालामाथि कसले नयाँ लेवलिङ्ग गरेर बेचिरहेको सोको बारेमा सात दिन भित्र प्रमाण सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन सगरमाथा टेड्रर्सका संचालक सकल शाह रौनियारलाई पत्र काटेको छ । करिव ५० हजार बराबर म्याद गुज्रेको सामान अनुमगन टोलीले बरामद गरिएको थियो ।


कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्नेलाई कालोबजार तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही हुने प्रशासनले जनाएको छ ।
बजार अनुगमनमा कोष तथा लेखा नियन्त्रण कार्यालय, र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, त्रियुगा उद्योग वाणिज्य संघको प्रतिनिधि तथा पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया