दुष्यन्त चौधरी, कलैया । बारामा एक उद्योगी व्यपारीको उद्योगमा बम विष्फोट गरी फिरौती रकम असुल्ने चार जना प्रहरीले पक्राउ गरेको छ । परवानीपुर गाँउपालिका ४ स्थित एमएस इट्टा उद्योगका संचालक मनोज प्रसाद साह तेलीको इट्टा उद्योगमा बम विष्फोट गरी फिरौती रकम दिनु नत्र घर परिवार समेतलाई खतरा हुने छ भनि धम्की दिदै आएका थिए ।
इट्टा उद्योगका संचालक तेलीलाई धम्की दिने सोही वडाका ३१ वर्षिय प्रमोद साह गोढ, सोही वडाका अर्का २० वर्षिय देव शंकर राम, जीतपुरसिमरा उपमहनगरपालिका २० का २० वर्षिय अच्छेलाल गोसाई र फेटा गाँउपालिका ३ का ३९ वर्षिय दिपेन्द्र कुमार धानुकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकास राज खनालका अनुसार इटा उद्योगका संचालक तेलीलाई करिब २–३ महिना देखि पटक पटक फोन गरी फिरौती माग गर्दै आएका थिए । उनका अनुसार पक्राउ परेकाहरुले इट्टा उद्योगका संचालक तेलीसँग १५ लाख फिरौती रकम माग गरेको थियो । तर एमएस इट्टा उद्योगका संचालक तेलीले फिरौती रकम दिन अस्वीकार गरेपछि गत कार्तिक ४ गते प्रमोद गोढले बम बिष्फोट गरी फिरौती रकम दिनु नत्र घर परिवार समेतलाई खतरा हुने छ भनि पटक पटक फोन र मोवाइलमा एसएमएस धम्की दिँदै आएका थिए ।
गोढको धम्की सहि नसक्नु भएपछि इट्टा उद्योगका संचालकले ईलाका प्रहरी कार्यालय सिमरामा उजुरी दिईएका थिए । बुधबार गोढले इट्टा उद्योगका संचालकलाई फोन गरी फिरौती रकम तीन लाख लिएर बाराको परवानिपुर गाउँपालिका ४ स्थित चैनपुरमा आउनु भनेपछि सोही स्थानबाट फिरौटी रकम लिन आउने चार जनालाई पक्राउ गरी ५ दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गोढ पहिले पनि विभिन्न अपराधिक घटनामा संलग्न गरेको बुझिएको छ । गोढलाई यस अघि २०७३ चैत्र २८ गते पर्साको बिरगंज उपमहानगरपालिका ८ स्थित सडकबाट पर्साको प्रहरी टोलीले एक थान अवैध घरेलु नलकटुवा बन्दुक र सोमा लाग्ने ३ राउण्ड गोली सहित पक्राउ गरी हातहतियार खरखजना मुद्दा चलाएको अनुसन्धानको क्रममा खुलेको छ ।
त्यसैगरी प्रसौनी गाउँपालिका ४ बस्ने नन्दकिशोर प्रसाद कुम्हाललाई मोवाईलबाट धम्की दिई ५० लाख रुपैया फिरौती माग गरेको र फिरौती रकम नदिए पश्चात २०७६ असोज १० गते रातको समयमा सुतली बम विष्फोटन गराएको समेत उजुरी परेको छ ।
यस्तै बाराको परवानीपुर गाउँपालिका ४ स्थित नारायणी आयल रिफाइनरीमा समेत धम्की दिई फिरौती रकम माग गरेको र रकम नदिए पश्चात २०७६ असोज २ गते सुतली बम विष्फोटन गराएको उजुरी परेको छ । विष्फोटन गरेपछि रिफाइनरीबाट २५ हजार फिरौती रकम लिएको अनुसन्धानको क्रममा खुलेको छ । पक्राउ परेका गोढले फिरौती रकम माग गर्न फरक फरक सिम प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।









