दिनेश राई, उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछास्थित ६ महिने स्वस्तीमा मोतेले नयाँ जीवन पाएकी छिन् । उनकी आमा १९ वर्षीया सृजना मोतेको बिगत ६ महिनाअघि कोशी अञ्चल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । आमाको मृत्युपछि टुहुरी बनेकी बालिकालाई गाउँपालिकाले अनुदान दिएको गाईको दुधले बचाएको हो । गाउँपालिकाले २० हजार र बाराहा स्वास्थ्यचौकीले १० हजार नगद अनुदान दिएपछि दुहुनो गाई र स्वास्थ्यबर्धक खाजा ल्याक्टोजीन किनेर भदैनीको ज्यान बचाएको बालिकाकी फुपु अप्सरा परियारले बताईन् । ‘अहिले गाईले नियमित ५÷६ लिटर दुध दिईरहेको छ’ अप्सराले भनिन् ‘त्यही दुध र ल्याक्टोजीन नियमित खुवाउदै आएका छौं ।

टुहुरी बालिका बचाउनका निम्ति गाउँपालिकाले आर्थिक सहयोग गरेको अध्यक्ष मेजरकुमार राईले बताए । राईका अनुसार अकस्मात सुत्केरी महिलाको उपचारको क्रममा मृत्यु भएपछि टुहुरी बालिका बचाउन कर्तब्य ठानेर गाउँपालिकाले सहयोग गरेको हो । ‘हरेक गाउँबासी जनताको स्वास्थ्यप्रति ध्यान दिनु स्थानीय सरकारको कर्तव्य हो’ अध्यक्ष राईले भने ‘त्यसैले टुहुरी बालिकाको ज्यान बचाउन सहयोग गरेर कर्तव्य पुरा गरेका हौं ।’
गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत भक्त राईले गाउँपालिकाको सहयोगबाट बच्चाको स्वास्थ्य सुधार हुँदै गएको खबर पाएको बताए । गाउँपालिकासँगै स्थानीय स्वास्थ्यचौकीले समेत बच्चाको हेरचाह गर्दै आएको पनि अधिकृत राईले बताएका छन् । स्वस्तीमा सकुशल जन्म दिए पनि केही समयपछि सृजनाको पेट एकाएक फुलिन थालेपछि उपचार गर्ने क्रममा २४ दिनभित्रै मृत्यु भएको छिमेकी महाबीर बिश्वकर्माले वताए ।
बिश्वकर्माका अनुसार बच्चाको बाबु जीबन मोते ज्यामी काम गर्न काठमाण्डौ बस्दै आएको र मोते परिवारको आर्थिक अबस्था अत्यन्त कमजोर भएकाले बालिकालाई बाराहा ३ कै मावली घर रोटाबासस्थित ८८ वर्र्षीय हजुरबुबा रणबहादुर परियार र फुपु अप्सराको साथमा राखिएको छ ।









