सुखिलाल चौधरी, उदयपुर । सुत्केरी गराउन आईतबार विहान ६ बजे उदयपुर जिल्ला अस्पताल ल्याइएकी एक महिलाको गरिवीको कारण मृत्यु भएको छ । आइतबार बिहान अस्पताल भर्ना भएकी २६ वर्षीया सरिस्मा बुढाथोकीको सुत्केरी हुनुअगावै विहान १०ः३० बजे मृत्यु भएको थियो ।
स्वास्थ्य सम्बन्धी हक संविधानप्रदत्त मौलिक हक हो । नेपालको संविधानको धारा ३५ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ’ भनी लेखिएको छ ।
यसको कार्यान्वयनको प्रयासस्वरुप महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग दुर्गम तथा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार गर्ने कार्यक्रम छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सञ्चालन भएको भनिएको यो कार्यक्रमको उद्देश्य ‘सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या भई जोखिममा परेका महिलाको हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याएर गुणस्तरीय स्वास्थ्य सेवा दिनु रहेको’ यसको कार्यविधिबाट स्पष्ट छ । तर, अस्पताल प्रशासनले यस विषयमा कुनै चासो दिएको पाइदैन् ।
राजनीतिक दलका पहुँचवाला नेता, प्रधानमन्त्री, राष्ट्रपति, दलका नेताहरुको स्वदेशमा मात्र नभएर विदेशमा समेत सरकारको पैसाले निःशुल्क उपचार हुने गरेको छ भने गरिव विपन्न जनताको सरकारी स्वास्थ्य चौकी तथा अस्पतालमा समेत उपचार पाउन नसक्दा मृत्युको शैयामा पुग्नु परेको छ । सरिस्मा यो एउटा प्रतिनिधि घटना मात्र हो । नेपालमा यस्ता कैयौं घटना घटने गरेका छन् ।
सरिस्मालाई ल्याउने बित्तिकै जचाउँदा रक्त अल्पता (रगतको कमी) भएको पाइएपछि सुविधा सम्पन्न अस्पताल लान रेफर गरे पनि श्रीमान प्रेम बुढाथोकीले पैसा ल्याउने भन्दै निस्केपछि सम्पर्क विहीन भएका हुन् ।
घरबेटीसँगै श्रीमतिलाई अस्पताल ल्याएका श्रीमान पैसा अभावमा उपचारको लागि बाहिर लैजान नसकेकोले सुत्केरी हुन आएकी महिलाको मृत्यु भएको हो । श्रीमान्ले घरबेटीसँग १ हजार मागेर ल्याएको रहेछ, अस्पतालले रक्तअल्पता भएकोले बाहिर लिएर जानुपर्छ भन्दा श्रीमान् पैसा लिन निस्केको जिल्ला अस्पतालका सुब्बा विर्खबहादुर खत्रीले बताए । पैसा लिएर आउँछु भनेको श्रीमान श्रीमतिको मृत्यु भईसक्दा पनि सम्पर्कमा नआएको उनले बताए । ‘खोटाङ र उदयपुरमा विभिन्न मितिमा गरेको गर्भवती चेकजाँच गरेको पुर्जामा रक्तअल्पता भएको देखाएको छ ।’ खत्रीले भने, ‘सायदः आर्थिक अभावले पनि गर्भवती महिलाले पोषिलो खानेकुरा खान नपाईएको देखिन्छ । यस्तै आइर, क्याल्सियम जस्ता औषधि सेवन नगरेको देखिन्छ ।’
अस्पतालको पुर्जीमा महिलाको ठेगाना त्रियुगा नगरपालिका ७ उल्लेख भएको तर त्रियुगा १२ डिएमगेटमा डेरा रहेको खुलेको सुब्बा खत्रीले बताए । उनका अनुसार रक्तअल्पता देखिएकाले उनलाई अन्यत्र सुविधा सम्पन्न अस्पतालमा लान सुझाएकोमा श्रीमतीले अन्तिम श्वास लिदै गर्दा प्रेम बेपत्ता भएका छन् ।
‘अस्पताल ल्याउँदै गर्दा नै महिला धेरै कमजोर देखिन्थिन्, जचाउँदा रगत ७.९ मात्र देखिएपछि तत्काल बाहिर लान सुुझायौं’ डाक्टर अमरेश कुमार महतोले भने ‘तर, उल्टै श्रीमान अस्पतालबाट बाहिरिएपछि बेखवर छन् ।’ डा. महतोले सरिस्मालाई ल्याउँदा घरधनी र प्रेम दुईजना आएको र भर्ना गरेपछि घरधनी फर्के पनि प्रेम श्रीमतीसँगै रहेको बताइन् । तर, श्रीमतीको मृत्यू भएपछि निस्केका प्रेम अहिलेसम्म नफर्केपछि शव अस्पतालमा बेवारिसे भएको छ ।
डा. महतोका अनुसार पुर्जीमा महिलाको ठेगाना र जात पनि फरक फरक उल्लेख छ । यसअघि जचाउँदा र अहिलेको ठेगाना फरक पाइएको र पुर्जीमा उल्लेख भएको श्रीमानको मोवाईल नं. मा सम्पर्क नहुने उनले बताइन् । यसअघि सरिस्माको ३ ठाउँमा गर्भ जाँच गरिएकोमा सबैमा रक्तअल्पता देखिएको पुर्जीमा उल्लेख छ । गत असार ५ गते खोटाङको बुईपा स्वास्थ्यचौकीमा जचाइएको पुर्जीमा ‘सरिस्मा आचार्य’ नाम र रगत ७.४ उल्लेख छ भने साउन २ मा दिक्तेल अस्पतालमा जचाउँदा ‘सरिस्मा बुढाथोकी’, रगत ७.३ उल्लेख छ ।
असोज ५ गते गाईघाट सिभिल अस्पतालमा जचाउँको पुर्जीमा रगतको अवस्था ७.५ उल्लेख छ भने आइतबार उदयपुर अस्पतालमा रगतको अवस्था ७.९ रहेको छ । सिभिल अस्पतालमा उनको ठेगाना ‘उदयपुरगढी’ उल्लेख भएकाले श्रीमानको खोजीमा नेपालटारतिर सम्पर्क गर्दा त्यस्तो नाम गरेको मान्छे कोही नभएको खबर आएको डा. महतोले बताए । जात र ठेगाना फरक हुनु तथा श्रीमानको नं. मा फोन नलाग्नाले शव अस्पतालमा बेवारिसे हुन पुगेको अस्पतालले जनाएको छ ।









