लहान । भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित प्रमुख रामबाबु मण्डल ५ लाख घुससहित रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले निमित्त प्रमुख मण्डललाई ५ लाख घुस लिइसकेको अवस्थामा निजको कार्यकक्षबाट पक्राउ गरिएको हो ।
उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधिन रहेको मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको माग भएको कागजातहरु उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग घुस रकम माग गरेको थियो ।
पक्राउ परेका मण्डललाई थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास लगि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवत्ता प्रदिप कुमार कोइरालाले बताएका छन् ।









