सिरहा । सिरहाको लाहानबाट चोरी भएको नेपाल आयल निगमको तेल बोकेको ट्यांकर धनुषामा फेला परेको छ । तेल खाली गरिएको अवस्थामा ट्यांकर बुधबार बिहान धनुषाको रमदैया भवाडेमा फेला परेको हो ।
नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट २० किलोलिटर डिजल लिएर विराटनगर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सिरहाको लाहानबाट सोमबार राति १२ बजे चालक र सहचालकलाई नियन्त्रणमा लिएर चोरी भएको थियो ।
ट्यांकरमा कोही नभएको र लामो समयदेखि वेवारिसे अवस्थामा रहेको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । यस विषयमा अझै अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
अमलेखगन्ज डिपोबाट ल्याइरहेको डिजेल सहितको ट्यांकर लाहान हुलाक कार्यालय अगाडि रोकी राखेको अवस्थामा टाटा सुमोमा आएका अपरिचित व्यक्तिहरुको समूहले चालक र सहचालकलाई नियन्त्रणमा लिएर ट्यांकर लगेको नेपाल ट्यांकर व्यवसायी महासंघका केन्द्रीय सदस्य रामसगुन यादवले जानकारी दिए ।
विराटनगर-४ का चालक रामदेव यादव र सह–चालक करिब १९ वर्षिय उमेश यादवलाई बर्दिवासको जंगलमा छोडेको उनले जनाए । ट्याङ्कर सिरहा धनगढीमाई–४ का उग्रचण्डि पेट्रोल पम्पका चालक राजेश गुप्ताको रहेको बताइको छ ।
अहिले नेपालको तुलनामा भारतीय बजारमा डिजेल्पे/ट्रोलको मूल्य बढी भएकाले भारत लगेर बेच्ने प्रकृया बढेको भन्दै यो पनि त्यतै लगेर बेचेको एक सुत्रले जनाएको छ ।
ट्याङ्कर व्यवसायीहरुले भने ट्यांकर भारत नछिरेको भन्दै नेपालमै रहेको दाबी गरेका छन् ।









