उदयपुर । सडक दुर्घटनाका पीडितहरुको स्मरणमा विश्व भर विभिन्न कार्यक्रमको आयोजना भएको छ । आइतबार World Day of Remembrance for Road Traffic Victims ‘वल्र्ड डे अफ रिमेम्ब्रेन्स फर रोड ट्राफिक भिक्टिम्स’ अर्थात ‘सडक दुर्घटना पीडित स्मरण विश्व दिवस’ हो । नेपालमा पनि विभिन्न संघ संस्थाहरुले स्मरण कार्यक्रमको आयोजना गर्दै मनाएको छ । नोभेम्बर महिनाको तेस्रो आइतबारलाई यो दिवसको रुपमा मनाइन्छ ।
उदयपुरको सदरमुकाम गाईघाटको पिपल चोकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले बेलुकी दीप प्रज्वलन गरि मनाएको छ । नोभेम्बर महिनाको तेस्रो आइतबारलाई द डे अफ रिमेम्ब्रेन्स फर रोड ट्राफिक भिक्टिमका रुपमा मनाइन्छ । उक्त दिवसका कारण सर्वसाधारणले समेत सडक दुर्घटना, यसको असर र मूल्य तथा यसको न्युनिकरणका लागि अपनाइएका विभिन्न विधि तथा प्रक्रियाको बारेमा आवश्यक जानकारी गराउने उद्देश्यले मनाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख दिनेश कुमार चौधरीले बताए । उनका अनुसार दुर्घटना न्यूनीकरण गर्नको लागि सडक दुर्घटनामा पीडितहरुको सम्झनामा यस कार्यक्रमको आयोजना गरिएको बताए ।
संसारका विभिन्न देशमा यस प्रकारको दिवस मनाइन्छ । सडक सुरक्षामा आवश्यक सुधार गर्दा पनि विश्वमा अहिले पनि हताहती र घाइते हुनेहरुको संख्या घटेको छैन । १५ देखि २९ बर्ष उमेरका युवाहरुको मृत्युको मूख्य कारण नै सडक दुर्घटना हुने र यसरी हुने दुर्घटना मध्ये लगभग आधा संख्या पैदल यात्रु, साइकल यात्री र मोटरसाइकल यात्रीको हुने गरेको छ ।
यो वाहेक सडकलाई अझै सुरक्षित बनाउनका लागि सरकार तथा समाज सबैको जिम्मेबारीका वारेमा समेत बुझ्ने अवसर प्रदान गर्छ । दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा सर्वप्रथम सन् १९९३ देखि बेलायतबाट यस प्रकारको दिवस मनाउन थालिएको थियो । सन् १९९५ मा युरोपियन फेडरेसन अफ रोड ट्राफिक भिक्टिम्स (एफइभिआर) अन्तर्गतका विभिन्न देशले यो दिवसलाई संयुक्त रुपमा मनाउन शुरु गरे । शुरुमा यसलाई ‘युरोपियन डे अफ रिमेम्बरेन्स’ को रुपमा मनाइएको थियो । तर पछि अफ्रिका, दक्षिण अमेरिका र एसियाका विभिन्न देशले समेत मनाउन थाले । सन् २००० मा पोप र अन्य धार्मिक समुदायका नेताहरु समेत यसलाई मनाउन थाले र सन् २००० देखि यसलाई ‘वल्र्ड डे’ को रुपमा मनाउन थालियो भने नेपालमा विगत ४ बर्ष अघि देखि यो दिवस मनाइदै आएको छ ।
संयुक्त राष्ट्र संघले सन् २००५ को अक्टोबर २६ मा यसको स्वामित्व ग्रहण गरेको थियो । त्यसपछि राष्ट्र संघकै अगुवाइमा यो कार्यक्रम संचालन भइरहेको छ ।
सडक दुर्घटनाका कारण ज्यान गुमाएकाहरुको सम्झना र उक्त दुर्घटनाका कारण आफन्तजनले भोग्नु परेका भावनात्मक तथा व्यावहारिक परिणामको दुर्दशालाई न्यूनीकरण गर्नका लागि केही सहयोग पुगोस् भन्ने यसको उद्देश्य हो ।
सन् २०२० सम्म अहिले भइरहेको सडक दुर्घटनाबाट हुने मृत्यु र अंगभंगको संख्यालाई आधामा झार्ने उपायका साथ संयुक्त राष्ट्र संघले कार्य गरिरहेको छ । गाईघाटको दिप प्रज्वलन कार्यक्रममा दुर्घटना पीडित परिवार, युवा, विद्यार्थी, नागरिक समाज, नेपाल प्रहरी, ट्राफिक प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।









