काठमाडौं । नेपाली भलिबलले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्दै कीर्तिमान रचेको छ । पहिलो संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जिताउँदै चेलीहरुले इतिहास रचेका हुन ।
ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा बिहीबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको हो ।
यो नेपाली भलिबल इतिहासको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । यसअघि २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले जितेको रजतपदक नै नेपाली भलिबलको सबैभन्दा ठुलो पदक थियो ।
सेन्ट्रल जोनमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्यो । माल्दिभ्समाथि पहिलो सेटमा २५–१३ को जित निकालेको नेपालले दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–८ सहज जित निकालेको हो ।
नेपाली महिला भलिबलले अहिलेसम्म दक्षिण एसियाली खेलकुदमा तीन कास्यपदक जितेको थियो । यस्तै पुरुष भलिबल टोली पनि हालसम्म कास्य पदकभन्दा माथि उठ्न सकेको छैन । पुरुष टोलीले एभीसी सेन्ट्रल जोनकै तेस्रो संस्करणमा कास्यपदक जितेको थियो ।
शनिबारबाट शुरु भएको च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको थियो । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोली नेपाल र माल्दिभ्सले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।









