उदयपुर । उदयपुरको शान्तिधाम परिषरमा कात्तिक १ गतेदेखि ८ गतेसम्म भएको श्रीमद् भागवत महापुराण पितृमुक्ति सप्ताह ज्ञान महायज्ञको आय व्याय सार्वजनिक गरेको छ । महापुराणबाट उठेको रकम मध्ये २० लाख ५५ हजार ५ सय ५५ रुपैया बराबरको शान्तिधाम संचालनार्थ अक्षय कोष स्थापना गर्ने समितिले निर्णय गरेको छ ।महापुराणमा भेटी,अक्षयकोष, विभिन्न पूजाकर्म तथा आफन्तजनको स्मृतिमा प्रदान गरेको रकमसहित ३२ लाख ३५ हजार ५ सय ५९ रुपैया आम्दानी भएको थियो । पाण्डाल व्यवस्थापन, भजन टोलीको भुक्तानी, सम्मान पत्र, प्रचार प्रसार, पूजा सामग्री खरीद लगायतका विभिन्न शीर्षकमा ८ लाख ८१ हजार ४ सय ४७ रुपैया खर्च भएको शान्तिधाम समितिका कोषाध्यक्ष बद्री बस्नेतले जानकारी दिए । उनका अनुसार खर्च कटार बचतमा २३ लाख ५४ हजार १ सय १२ रुपैयामध्ये २० लाख ५५ हजार ५ सय ५५ रुपैया बराबरको रकम शान्तिधाम संचालनार्थ अक्षय कोषको लागि छुट्याउने निर्णय भएको जानकारी दिए ।
शान्तिधाम समितिका अध्यक्ष गिरीराज खतिवडाका अनुसार अक्षय कोष नमासिने गरी बैंकमा मुद्धती खाता खोली प्राप्त व्याजबाट शान्तिधाम संचालनको लागि खर्च गरिने बताए ।शान्तिधामको लागि त्रियुगा नगरपालिकाको तर्फबाट भव्य पाण्डाल बनाई दिने र विशाल त्रिशुल स्थापना गरिदिने प्रतिवद्धता जनाएको छ भने सहयोगको प्रतिवद्धता गर्नेमा त्रियुगा नगरपालिका ११ निवासी अमरबहादुर दाहाल(खत्री) ले त्रियुगा बैद्धिक गुरू कुलमका लागि ४ कोठे भवन (कक्षा र आवास) बनाई दिने प्रतिवद्धता व्यक्त गरेको छ भने खप्तडी वस्नेत परिवारले क्रियापुत्री भवन, निर्माण व्यवसायी संघ उदयपुरले ई–लाईब्रेरी भवन, नेपाल लाइब्रेररी फाउण्डेशनले ई–लाईब्रेरीको आवश्यक सामान उपलब्ध गराउने प्रतिवद्धता जनाएको शान्तीधाम का सल्लाहकार र योजनाकार तथा वन अधिकृत जागेश्वर शाहले जानकारी दिएका छन् ।
गौशाला निर्माणका लागि त्रियुगा नगरपालिका १२ निवासी हरि रेग्मीले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । त्रियुगा वैदिक गुरूकुलम संचालनका लागि अक्षय कोष स्थापनार्थ त्रियुगा नगरपालिका ११ बस्ने नारायणभक्त बस्नेतले १ लाख १ हजार १ सय ५५ रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाएको समितिका सल्लाहकार शाहले जानकारी दिए । उनका अनुसार महापुराणमा नगद तथा भेटी दान गर्ने तथा सहयोगको प्रतिवद्धता जनाउनेहरुलाई सम्मान गरिएको थियो ।
महापुराणको सफल आयोजनाले शान्तिधाम को पहिचान बढेको, स्थानीयहरूमा “नगरको शोभा र शान, साँझा धरोहर त्रियुगा शान्तिधाम” भन्ने भावना आत्मसात भएको, यस साँझा धरोहरको बिकासमा स्थानीय सरकार र सरोकारबालाको समेत चासो बढेकोले बहुधार्मिक पर्यट्न क्षेत्रको रुपमा बिकास हुने र नेपाल सरकारको भिजिट नेपाल २०२० को सन्दर्भमा एक महत्वपूर्ण गन्तव्यको रुपमा स्थापित हुनेमा आफू पूर्ण विश्वस्त रहेको समितिका अध्यक्ष गिरिराज खतिवडाले बताए ।
सप्ताह महापुराणको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गरेका थिए भने सप्ताह महापुराणमा प्रदेश सभा सदस्य माननीय कला घले लगायत समाजका प्रतिष्ठित व्यक्तित्वहरु, नागरिक समाज, संचार जगत, प्रहरी प्रशासनको पनि सक्रिय सहभागिता रहेको सचिव भुवन पराजुलीले बताए ।

तपाईको प्रतिक्रिया