उदयपुर । थारु समुदायले लक्ष्मीपुजाका दिन साथी भाई विच खेलिने मौलिक खेल हुकेहुक्का सन्ठी नहुँदा लोप हुने अवस्थामा पुगेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडी सम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुने अवस्थामा पुगेको हो ।
पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा हुकेहुक्का खेल्दै आएका छन् । पछिल्लो समयमा सनपाटको उत्पादन नगर्ने र लगाएको सनपाटले बजारभाउ नपाउँदा कृषकहरुले सनपाट रोप्न छाडेपछि सन्ठीको अभावमा यो खेल लोप भएको थारु पण्डित बासुदेव चौधरीले बताए । सनपाठ गोड्ने ताल तलैया र व्यवस्थीत पोखरीको अभावमा पनि यसको खेती गर्न छोडिएको हो ।

फाइल तस्विर

पौराणिक किवदन्ती अनुसार परापूर्वकालदेखि खेल्दै आएको हुके हुक्का एक मुठा सन्ठीलाई बावियोले बाधेर यो खेल खेलिन्थ्यो । घरको देउता कोठाको दलिनमा धान, चामल माथि दियो राखी विधिवत पुजा आजा गरी खेल्ने चलन थियो, पण्डित चौधरीले भने, तर सन्ठीको अभावले यो खेल लोप भयो ।
देउता घरको दलिनमा राखेको दियोमा हुके हुक्का बाली थारु शब्दमा “अनधन लक्ष्मी घर ढुक दरिदर बहार हो” अर्थात अन्न धन सहित लक्ष्मी घर पसुन र दरिद्र बाहिर हुन् भन्दै तीन पल्टसम्म मन्त्र पढेर हुके हुक्का सल्काउने गरिन्छ । यसरी सल्कि सकेको हुके हुक्कालाई तीन फेरासम्म देउता घरको चारै तिर घुमि दोवाटो वा खाली चौरमा लगि खेल्ने चलन रहेको छ ।
थारु पण्डित चौधरी भन्छन्, ‘हुक्के–हुक्का तराईमा बस्ने आदिवासीले त्यतिबेला घनघोर जंगलमा बस्दा भूत, पिचास लगायतका नकारात्मक शक्तिसँग मुक्त रहन र धान चामल, बालीनाली राम्ररी सप्रियोस भनेर यो खेल्ने गरेको छ ।’

फाइल तस्विर

आगोको राप तापले दरिद्र भाग्ने किदन्ती अनुरुप हुके हुक्काको प्रचलन रहेको र दियो अर्थात हुका बाली लक्ष्मीलाई स्वागत गर्ने मान्यता अनुरुप यो खेल खेल्ने गरिन्छ । यस खेलले केही दिनमा किसानहरुले आफुले लगाएको अन्नबाली भित्राउने दिन आयो भनेर संकेक्त गर्ने गर्दछ ।
नयाँ अन्नबाली राम्ररी सप्रियोस भनी हुके हुक्काको जल्न बाँकी एक भाग जम्मा पारी दोवाटोमा जलाउने र बलेको आगोमा तीन पटक सम्म नाघेर आ–आफ्नो घर जाने चलन रहेको छ । एउटा एउटा जलेको हुके हुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलन रहेको छ । तिनै बलेको एउटा हुके हुक्काको ठुटाले दरिद्र वा कुनै किसिमको छोइछुत नलागोस भन्दै ल्याउने गरिन्छ ।

तपाईको प्रतिक्रिया