उदयपुर । उदयपुरमा तिहार पर्वको अवसरमा राति ९ बजेपछि देउरी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय उदयपुरले आग्रह गरेको छ । शान्ति सुरक्षालाई मध्यनजर राख्दै राति ९ बजेपछि देउसी भैलो नखेल्न आग्रह गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले सूचना नै जारी गरी रातको समयमा हूलदंगा र आपसी झगडा हुन सक्ने भन्दै प्रहरी प्रशासनले देउसी–भैलोका लागि निश्चित समय निर्धारण गरेको हो ।
गत वर्ष पनि ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाउने व्यवस्था थियो । यो व्यवस्थाले तिहारमा रातको समय देउसी–भैलो खेल्न प्रतिबन्ध लगाएको छ । ‘९ बजेपछि देउसी–भैलो खेल्न नपाइने सूचना जारी गरिसकेका छौं,’ जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भने, ‘पटका पडकाउन निषेध गरिएको छ ।’देउसी–भैलोमा नेपाली भाषा, धर्म, संस्कृति र सभ्यतालाई विकृति तुल्याउने खालका गीत, संगीत, श्रव्य, दृश्य सामग्री प्रशारण गर्न नगराउन अनुरोध गरेको छ । सामाजिक शान्ति विथोल्ने कार्यको साथै रकम नै तोकेर पत्रचार नगर्न गराउन अनुरोध गरिएको छ । लागूऔषधको निषेध वितरण तथा मदिराजन्य पदार्थ नियन्त्रण गर्न पनि आग्रह गरिएको छ ।
देउसी–भैलो खेल्ने बहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने आशंका गर्दै प्रशासनले समय निर्धारण गरेको जनाएको छ । यस्तै तिहार मनाउने क्रममा आतिशबाजी, पटका, भुइँचम्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग नगर्न समेत आग्रह गरेको छ । यदि कसैले पटका ओसार पोसार, विक्री वितरण तथा पट्काएको भेटेमा सार्वजनिक मुद्धासम्म चलाउने जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । चाडपर्वका बेला सुरक्षा व्यवस्थालाई नियन्त्रणमा राख्न निश्चित समय तोक्ने गरेको एसपी गरले बताए । पछिल्लो समय उदयपुरमा पनि देउसी–भैलोको माहोलसमेत विस्तारै घटदै गएको छ । विगतमा तिहारको तेस्रो दिन लक्ष्मीपूजाको दिन देखि देउसी–भैलोको रौनक हुन्थ्यो ।

तपाईको प्रतिक्रिया