उदयपुर । उदयपुरगढी गाउँपालिकाले व्यवसायिक गाईपालक कृषकहरूलाई काउम्याट वितरण गरेको छ । उदयपुरगढी गाउँपालिका अन्तर्गत पशुपालन व्यवसाय गर्दै आएका ३३ जना कृषकलाई वितरण गरिएको हो । उदयपुरमा पहिलो पटक गाईलाई ओछ्याउनका लागि म्याट वितरण गरिएको जनाइएको छ ।
हेल्भेटास नेपालको सहयोग र उदयपुरगढी गाउँपालिकाको समन्वयमा पशुपंक्षी शाखाले व्यवसायिक गाईपालन गर्दै आएका कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यले काउम्याट वितरण गरिएको कृषि प्राविधिक सहायक तथा पशुशाखाको पनि जिम्मेबारी सम्हालिरहेका पारश फुयालले जानकारी दिए । हेल्भेटास नेपालको सहयोग र उदयपुरगढी गाउँपालिकाको समन्वयमा ३ लाख २८ हजार मूल्य बराबरको काउम्याट वितरण गरिएको पशुपन्छीं शाखाले जनाएको छ ।
म्याट ओछ्एपछि गाईवस्तुलाई आराम हुने, बिरामी कमहुने र १० प्रतिशत दुध उत्पादन बढ्ने भएकाले म्याट आवश्यक रहेको पशु शाखाले जानकारी दिए । ‘गाईलाई आरामदायी र कम रोग लाग्ने सम्भावना भएकाले काउम्याट उपयुक्त हुन्छ । अन्य जिल्लामा हामीले देखेपछि यहाँ पनि सुरु गरेका हौं’ प्राविधिक सहायक फुयालले भने, ‘काउम्याटमा बस्न पाएपछि गाईले १० प्रतिशतसम्म दुध उत्पादन पनि वृद्धि गर्छ ।’ उनले यो कार्यक्रममा अन्य पशुपालक कृषकहरूसँग पनि विस्तार गरिने जानकारी दिए ।
काउम्याट लिन पुगेका देवी बहादुर राउतका अनुसार हामीलाई थाहै थिएन कि गाईलाई पनि ओछ्यान दिनु पर्ने रहेछ । गाईलाई ओछ्यानका लागि काउम्याट पाएको आफुहरुलाई पशु पालनमा सहयोग पुग्ने बताए । अर्का तायम कुमार धमला पनि काउम्याट पाएपछि दंग थिए । उनले भने, ‘पहिले पहिले गाई भैसीलाई सोतर दिन्थ्यौ तर, गाईलाई ओछ्याउने काउम्याट पनि हुँदो रहेछ ।’
उदयपुरगढी गाउँपालिका गाई पालक कृषक समूहका अध्यक्ष भरत राज कार्कीले व्यवसायिक पशुपालक कृषकहरुले काउम्याट पाएपछि कृषकहरु उत्साहित भएको बताए । उनका अनुसार व्यवसायिक कृषकको लागि यो एकदमै राम्रो सामग्री रहेको बताए ।
काउम्याट वितरण कार्यक्रममा उदयपुरगढी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष कृष्णबहादुर खत्री र वडा नं. ८ का वडाध्यक्ष टंकबहादुर श्रेष्ठको रोहबरमा वितरण गरिएको थियो । गाउँपालिका भित्र रहेका पशुपालक कृषक, फर्म, समूह, सहकारीलाई विभिन्न कार्यक्रममा अनुदान प्रदान गर्दै आएको छ ।









