उदयपुर । हिन्दूहरुको महान चाड दशैँ सकिएलगत्तै तिहार पर्वलाई लक्षित गरी तस्करहरुले विभिन्न नाकाबाट विस्फोटक पदार्थ पटाका भित्र्याउन थालेका छन् । नेपालमा प्रतिबन्धित पटाका तस्कर समूहले चोरी निकासीको बाटो प्रयोग गरेर उदयपुर जिल्ला भित्र्याउने गरेको छ । बुधबार मध्यान्ह १२ः०० बजे समयमा त्रियुगा नगरपालिका ३ मोतिगडा रुट भएर भित्रिँदै गरेको ना.३ ख २४७७ नं. को बसमा सवार सप्तरी कन्चनपुर ८ का रेखा यादव र उनले ल्याउँदै गरेको अवैध सामग्री पटाका र सुर्ति पक्राउ परेको छ ।
सप्तरीको फत्तेपुर बजारबाट सुन्दरपुर–हडिया–जोगीदहको रुट हुँदै गाईघाट भित्र्याउँदै गरेको उक्त बसमा रहेको ४ वटा बोरामा राखिएको ८८ किलो सुर्ति र त्यसभित्र ‘नागिन ब्राण्ड’को १६ हजार ८ सय थान पटकाको १२ बण्डल बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार पक्राउ महिला व्यापारीले अहिले केही नखुलाएकीले विस्तृत कुरा जानकारीमा आउन सकेको छैन ।
बरामद सामग्री र पक्राउ महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । अनुसन्धानपछि सबै कुरा खुल्ने र सोही अनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी भईरहेको प्रहरी भनाई छ ।

तपाईको प्रतिक्रिया