सुखिलाल चौधरी, उदयपुर । उदयपुरकै ऐतिहासिक तथा पर्यटकीयस्थल चौदण्डीगढी नगरपालिका १ मा भ्यू–टावर निर्माण भएको छ । चौदण्डीगढी दरबारबाट १ किलोमिटर पश्चिममा पर्ने बतासे डाँडामा भ्यू–टावर निर्माण भएपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुको टावर चढ्न तथा अवलोकनको लागि भिडभाड बढेको छ ।
२०७२ सालमा शहरी विकास मन्त्रालय, पर्यटन बोर्ड र चौदण्डीगढी नगरपालिकाको सहयोगमा भ्यूटावर निर्माण भएको हो । ५५ लाख ८८ हजार सरकारी अनुदान, १३ लाख ९७ हजार बराबरको जनश्रमदानसहित ६९ लाख ८५ हजार रुपैयाँको लागतमा निर्माण भएको टावर ४४ फिट उचाई र १८ मिटर चौडा रहेको छ ।
टावरबाट एकै पटकमा ४० जनासम्मले तराईका थुप्रै जिल्ला, भारतको विहार उत्तर प्रदेश र पश्चिम बंगालका विभिन्न स्थानसहित उत्तरतर्फ कञ्चनजंघा, मकालु, सगरमाथा सहित थुप्रै हिमशृङ्खलाको दृष्यावलोकन गर्न सजिलै सकिन्छ ।
३ सय वर्षअघि सेन वंशीय राजाले राज्य गरेको भग्नावशेषका रुपमा रहेको दरबार क्षेत्रको संरक्षणको लागि नगरपालिकाको सक्दो सहयोग रहेको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले बताए । उनका अनुसार एतिहासिक तथा पर्यटनको हिसावले चौदण्डीगढी क्षेत्र अत्यन्तै सुन्दर, रमनिय स्थान भएकोले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन तथा नेपाल भ्रमण वर्ष सन् २०२० लाई यस भ्यूटावर र दरबारले ठूलो भूमिका खेल्ने बताए । सेन वंशीय राजाको एतिहासिक दरबारलाई संरक्षण गर्न नगरपालिकाको मात्रै नभएर प्रदेश सरकार र नेपाल सरकारको पनि उत्तिकै दायित्व भएकोले गुरुयोजना बनाएर बजेट विनियोजन गर्नु पर्ने मेयर राईले बताए ।
यस ठाउँले तनाव कम गर्ने, मनोरन्जन लिन मनोरम दृश्यावलाकोन भएको ठाउँ रहेको भ्युटार घुम्न आई पुगेकी मौसम राईले बताएन् । उनले भनिन्, ‘आफुहरु दुई वटा अटो रिक्सा रिजर्भ गरेर ६ जना आएको छौं, वास्तवमा घुम्न लायक ठाउँ रहेकोले छ ।’




























