उदयपुर । उदयपुरमा धमाधम फरार प्रतिवादी पक्राउ पर्न थालेका छन् । ३१ वर्षदेखि फरार उदयपुरका तीन जना अभियुक्त पक्राउ परेका छन् । गत ०४५ सालमा बाँदर मार्न बन्दुक हान्दा लागेको गोलीले एक स्थानीयको ज्यान गएको अभियोगमा अदालतबाट दोषी करार भए पनि भाग्न सफल अभिुक्तहरु पक्राउ परेको उदयपुर प्रहरीले जनाएको छ ।
जिल्लाको चौदण्डीगढी नगरपालिका–१ का असरमान माझीले बाँदर मार्ने गरी हानेको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँका स्थानीय कमल राईको त्यतिबेला मृत्यु भएको थियो । बाँदर मार्न प्रहार गरेको गोली लागेर राईको मृत्यु भएको मुद्धामा जिल्ला अदालतले माझीसहितलाई सजाय तोकेकोमा फरार रहेका ३ अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादु बुढामगरले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बेलटारबाट पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–१ चौदण्डीका ६८ वर्षीय सोभितमान श्रेष्ठ, सोही ठाउँका ५२ वर्षीय प्रकाश माझी र ६१ वर्षीय दलबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । तीनैजनालाई अदालतले १५ दिनको कैद सजाय तोक्नेगरी फैसला गरेको थियो । उनीहरुलाई इप्रका बेलटारमै राखेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।









