उदयपुर । उदयपुरमा मंगलबार साँझ ५ः४५ बजेको समयमा मदन भण्डारी राजमार्ग अन्तर्गत त्रियुगा नगरपालिका ७ चुहाडे झुलुङ्गे पुल नजिक मे.६ प ९५३९ नम्बरको मोटर साइकल दुर्घटना हुँदा दुई जना गम्भिर घाइते मध्ये एक जनाको मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरेर मोटर साइकल चलाउने त्रियुगा नगरपालिका ५ देउरीका चालक २४ वर्षिय दिपेन्द्र रानामगरको थप उपचारको क्रममा न्यूरो हस्पिटल विराटनगरमा पौने १० बजे डाक्टरले मृत घोषणा गरेको थियो । सोही मोटर साइकलमा पछाडी सवार सोही ठाउँका २२ वर्षिय सुशिल थापाको अवस्था चिन्ताजनक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेश कुमार चौधरीले जानकार दिए । मादक पदार्थ सेवन गरी तिव्रगतिमा मोटर साइकल चलाउँदा अनियन्त्रित भई नालामा खसेको थियो ।
दुर्घटनामा दुवै जनाको टाउको, नाकमा चोट लाग्नुको साथै कानबाट रगत बगिरहेकोले अवस्थामा प्रहरीले उपचारको लागि अस्पताल ल्याएको थियो । घाइतेहरुको जिल्ला अस्पताल बोक्सेमा प्राथमिक उपचार गरी थप उपचारको लागि विराटनगर रेफर गरिएपनि चालकको न्यूरो हस्पिटलमा मृत्यु भएको थियो । पछाडी सवारको विराटनगरमा उपचार भैरहेको प्रहरीले जानकारी दिए ।









