खोटाङ । यातायात व्यवासायीले यात्रुबाट तोकिएभन्दा बढि भाडा लिएका दुई जना विरुद्ध कालो बजारी अन्तरगत मुद्धा दर्ता गरिएको छ । चाडवाडका समयमा यात्रुबाट निर्धारित भन्दा बढी भाडा लिएकोमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पालाई पक्राउ गरेर कालो बजारी अन्तरगत मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबारका दिन खोटाङबाट काठ्माण्डौं जाने यात्रुबाट जनही १ हजार ४ सय ५० लिनुपर्नेमा दुई हजार लिएको जनगुनासोका आधारमा सादा पोशाकका प्रहरी खटाएर उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।
पक्राउ परेका दुई जना विरुद्ध कालो बजारी अन्तरगत मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ । दशैं तिहारको बेलामा भित्रिने र बाहिरिने यात्रुबाट मनपरी भाडा लिएको विषयमा चेकजाँचका लागि ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
ऐसेलुखर्क, बाक्सिला लगायतका क्षेत्रमा सञ्चालनमा रहेको सवारी साधनले मनपरी भाडा लिइरहेको गुनासो आएको प्रनाउ गौतमले बताए ।









