उदयपुर । धानले पसाउने (बाला फाल्ने) बेलामा धानबालीमा फौजी किराको प्रकोप फैलिएपछि उदयपुरको त्रियुगा नगरपालिकाका किसान चिन्तित बनेका छन् । धानबालीमा फौजी किराको प्रकोप देखिएपछि बढेपछि किसान चिन्तित बनेका हुन् ।
त्रियुगा नगरपालिका ३ पूर्व चाँपमा करिव १२ विगाहा क्षेत्रफलमा लगाएको धानमा फौजी किराले क्षति पु¥याएको नगर कृषि शाखा प्रमुख नाथुराम चौधरीले बताए । उनका अनुसार त्रियुगा नगरपालिका ३ स्थित चाँपमा पसाउन लागेको धानमा फौजी किराले धान काटेर नोक्सानी पु¥याएको छ । त्रियुगा नगरपालिकाको वडा नं. ५, ७, ९ र १६ मा मकैमा देखिएको फौजी किरा एकाएक त्रियुगा नगरपालिका ३ पूर्वी चाँपमा धानमा किराको प्रकोप फैलिन थालेको छ ।फौजी किराको प्रकोप देखिन थालेपछि नियन्त्रणको प्रयास गरिरहेको जनाएका छन् । फौजी किरा फैलने क्रम बढ्दै गएकाले नियन्त्रण गर्न कठिनाइ भईरहेको नगर कृषि प्रमुख चौधरीले बताए । उनले भने, “प्रकोप नियन्त्रणका लागि स्थानीय तहबाट पनि किसानहरुलाई विषादी सहयोग गरिरहेका छौँ । किराको प्रकोप उच्च देखिएको छ । अहिलेसम्म नियन्त्रण हुन सकिरहेको छैन । कतिपय किसानले धान काटेरै फालेका छन् । हामीले किरा नियन्त्रणका लागि सबै विकल्प प्रयोग गरिरहेका छौँ ।”
पाकिसकेका धानको बाला फौजी किराले काटेर भूइँमा खसाउँदा क्षति पुगेको त्रियुगा नगरपालिका ३ का वडा सदस्य शारदा कार्कीले बताए । उनका अनुसार पूर्व चाँपमा करिव तीन दर्जन बढी किसानको धानबाली फौजी किराले नष्ट गरेको छ । उनका अनुसार पाकेको धानको बाला काटेर भुइँमा झरिदिँदा ठूलो नोक्सानी बेहोर्नु परेको बताए । फौजी किरा दिनभर धानको गाँजमा लुक्ने र राती एकसाथ फौजी शैलीमा धानबालीमा आक्रमण गर्छ । फौजी शैलीमा किराले धानको बालामा आक्रमण गर्ने भएका कारण कृषि विज्ञान केन्द्रका निमित्त प्रमुख बासु ढुंगानाले बताए । फौजी किरा भन्ने गरिएको हो । किराले खानेभन्दा बढी काट्ने हँुदा खेतैभरि धान खसेको देखिन्छ । किसानहरुले पाकिसकेको धान जोगाउन किसानले कृषि ज्ञान केन्द्र र स्थानीय तहसँग हारगुहार गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया