उदयपुर । उदयपुरको कटारी नगरपालिका ५ स्थित भोर्ले मध्य पहाडी लोकमार्गमा मिनी ट्रक दुर्घटनामा परि २८ जना घाइते भएका थिए । आइतबार विहान ९ः २५ बजेको समयमा रिस्कुबाट कटारी तर्फ आउँदै गरेको बा.३ ख ७३०१ नम्बरको मिनी ट्रक तिव्रगतिका कारण बे्रक फेल भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । इटहरी उपमहानगरपालिका १० की २० वर्षिय विना विक, सोही ठाउँका ३० वर्षिय कल्पना विक, त्रियुगा नगरपालिका ५ का २७ वर्षिय लक्ष्मण खत्री र कटारी नगरपालिका ६ चुहाडेका २५ वर्षिय सुजाता राई, सोही नगरपालिका ९ लिम्पाटारका ३० वर्षिय प्रकाश सुर्खेती गम्भिर घाइते भएका छन् । सुजाता राईको बाँया हातको पाता भाचिएको छ भने विना, कल्पना, लक्ष्मण, प्रकाशको टाउको र अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिर बहादुर बुढामगरले जानकारी दिए ।
इटहरी उपमहानगरपालिका १० का खेचर बहादुर विकको पनि दाहिने हात भाँचिएको छ । उनीहरुलाई थप उपचारको लागि विराटनगर रेफर गरिएको एसपी बुढामगरले जानकारी दिए ।
ट्रकमा २८ जना सबार थिए । घाइते मध्ये १५ जनालाई थप उपचारको लागि जिल्ला बाहिर पठाएको छ भने अन्यको कटारी अस्पताल, आस्था अस्पताल कटारी र मोडल अस्पताल कटारीमा उपचार भइरहेको प्रहरीले जानकारी दिए ।













