उदयपुर/ उदयपुरमा जारी ‘चौदण्डीगढी नारदमुनि गोल्डकप प्रतियोगिता ०७५’ को उपाधिका लागि डिसिटी सुनसरी र बारा ११ युथ क्लव बाराबीच प्रतिस्पर्धा हुने भएको छ । अघिल्लो दिनको सेमिफाईनल बिजेता डिसिटीले सोमबार सम्पन्न अन्तिम सेमीफाइनल विजेता बारा ११ सँग उपाधि लिन प्रतिस्पर्धा हुने भएको हो ।
बाराले ३–२ गोल अन्तरले गोर्खा ब्वाईज बुटबललाई उपाधिको दावेदारी कायम गरेको छ । पहिलो सेमीफाइनलमा जस्तै सोमबारको खेलमा पनि टाईब्रेकरबाटै बारा ११ उपाधिको दाबेदार बन्न सफल भएको हो। बाराको तर्फबाट ३ गोल भएपछि २ गोल गर्ने गोर्खा पराजित हुन पुगेको हो । निर्धाति ९० मिनटको खेल दुवैपक्षबाट १–१ गोल बराबरीमा टुंगिएपछि नतिजा निकाल्न टाईब्रकरमा प्रतिस्पर्धा गराउनु परेको थियो ।
टाईब्रेकरमा बारा ११ का तर्फबाट चतुरध्वज चौधरी, अजय सिंह र विशाल खड्काले गोल गर्न सफल भएका थिए । त्यस्तै गोर्खाको तर्फबाट अफ्रिकन खेलाडी साहिद र बिबेक पौडेल गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ दि म्याचको उपाधि बारा ११ कै चतुरध्वज चौधरी घोषित भए । उनलाई चौदण्डीगढी नगरपालिका ३ का वडाध्यक्ष सन्तोष सुबेदी (बलिदान) र क्लबका सल्लाहकार भिम बान्तवा राईले ट्रफि र प्रमाणपत्र प्रदान गरे ।
उदयपुरमा आयोजना हुँदै आएका ३ वटा गोल्डकपमध्ये नादमुनि गोल्डकप गाउँमा हुँदै आएको प्रतियोगिता हो । सदरमुकाम त्रियुगा नगरपालिकामा उदयपुर गोल्डकप र पश्चिमी बजार कटारी नगरपालिकामा कटारी गोल्डकप आयोजना गरिँदै आएको छ । तर, नारदमुनि गोल्डकप भने चौदण्डीगढी नगरपालिका स्थापना हुनुअघि साविक बसाहा गाविस हुँदादेखि नै सुरु भएको सातौं संस्करण हो ।
नारदमुनि गोल्डकप विजेताले पुरस्कारस्वरुप ३ लाख नगद, ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले १ लाख ५० हजार नगद र प्रमाणपत्र पाउने आयोजक बसाहा क्लवका अध्यक्ष शेखर राईले बताए । प्रतियोगितामा २ विभागीयसहित ८ वटा समूहले भाग लिएको प्रतियोगिताको फाईनल खेल मंगलबार (३० गते) हुँदैछ ।
बसाहा क्लवले यो गोल्डकप प्रतियोगिता ००७ सालका क्रान्तियोद्धा तथा पूर्वमन्त्री स्व. नारदमुनि थुलुङ राईको स्मृतिमा वर्षेनी आयोजना गर्दै आएको छ । प्रतियोगिता चौनपा ५ बसाहा बर्खेडाँडास्थित नारदमुनि रंगशालामा सञ्चालन गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया