राजेन्द्र महतो, लहान । युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले अपहरणमा संलग्न तीन जनालाई स्कारपियो सहित पक्राउ गरेको छ । उदयपुरकी १६ वर्षिय एक युवतीलाई भारतीय नम्बरको बिआर ३२ प ४२६२ नम्बरको स्कारपियोमा भारततर्फ लगिरहेको अवस्थामा सिरहा नगरपालिका–९ गुलरिया टोलबाट तीन जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
लहानस्थित दुर्गा मन्दिरमा मेला तथा सांस्कृतिक कार्यक्रम हेरेर बुधबार बिहान ३ बजेतिर फर्किरहेकी ती युवतीलाई बाटोबाटै अपहरण गरेर भारत तर्फ लगिरहेको अवस्थामा सिरहा नगरपालिका–९ निवासी २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र सिरहा नगरपालिका–८ निवासी २२ वर्षीय नथुनी भन्ने चतुरानन्द यादव पक्राउ परेको छ । युवतीलाई अपहरण गरी लगिरहेको अवस्थामा बाटो छेउमै रहेको नालामा स्कारपियो फसेपछि ती युवतीले दिसा गर्न जान्छु भन्दै बहाना बनाई अपहरणकारीको कब्जाबाट भाग्न सफल भएको प्रहरी नायब उपरीक्षक अपिल राज बोहराले बताए ।
पक्राउ परेको साथबाट लागुऔषध नेट्रोभेट ट्याब्लेट ३ सय पिस, आठ राउण्ड गोली, पर्स एक थान र रामप्रकाश गोइतको सवारी चालक अनुमतिपत्र र मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
दुई जना अपहरणकारी भाग्न सफल भएको र उनीहरुको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए ।









