उदयपुर । कर्मचारी मिलन केन्द्र उदयपुरले स्मारिका प्रकाशनबाट संकलित रकम मिलन केन्द्रको जिर्णभवन मर्मत सम्भारमा खर्च गर्ने भएको छ ।
नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गरी जिल्लाका ८ वटै स्थानीय तहका पर्यटकिय क्षेत्रलाई समेटेर तयार पारेको स्मारिकाको लोकार्पण समारोहमा मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानेले यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘स्मारिकामा समावेश भएको सन्देशमुलक विज्ञापनबाट १० लाख रुपैँया संकलन हुने हाम्रो अनुमान छ, त्यसमध्ये सामान्य खर्च रकम कट्टा गरी बाँकी सबै रकम भवनमा खर्च गर्छौ ।’
‘आजभन्दा २० बर्षअघि बनेको भवन जिर्ण मात्र नभई छतबाट सबै पानी चुहुने भएको छ,’ उनले भने, ‘त्यसलाई मर्मतसम्भार, रगंरोगन गरी माथिल्लो तलामा ट्रस्ट लगाई सभाहल बनाउछौ ।’ ‘भवनको सबै काम गरी ७/८ लाख रुपैँया लाग्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘यति गर्न सके सधैका लागि सहज मात्र हैन हल भाँडा केन्द्रको नियमित आम्दानीको स्रोत पनि हुने थियो ।’
भवनमा कसैको नजर नपर्दा झ्याल, ढोका, शौचालय कामै नलाग्ने अबश्थामा पुगेकाले मर्मतसम्भार गर्ने तयारी गरेको उनले बताए । स्थानीय पर्यटकिय क्षेत्रको पहिचान र प्रर्वद्धन गर्ने उदेश्यले मिलन केन्द्रले आफ्नो स्मारिकामा जिल्लाका प्रमुख पर्यटकिय क्षेत्रहरुलाई समेटेको हो ।
स्मारिकाको पहिलो भागमा सरकारले पर्यटकिय क्षेत्रकोरुपमा अघि बढाउने गरी घोषणा गरेको प्रमुख १ सय गन्तव्य मध्येको एक पुरानोसदरमुकाम उदयपुरगढी गाउँपालिकाको उदयपुरगढीलाई समेटिएको छ । त्यसैगरी जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटकिय क्षेत्रको महत्व बोकेको रौतामाई गाउँपालिकाको रौतापोखरी, ताप्लि गाउँपालिकाको ताप्लिपोखरी, लिम्चुङबुङ गाउँपालिकाबाट देखिने हिमश्रृखलालाई समेटिएको छ ।
यस्तै चौदण्डीगढी नगरपालिकाको चौदण्डीगढी, बेलका नगरपालिकाको कोशिटप्पु बन्यजन्तु आरक्ष क्षेत्र, कटारी नगरपालिकाको भुगोलपार्क र त्रियुगा नगरपालिकाको श्रमिकपार्क, राधाकृष्ण लगयतका पर्यटकिय क्षेत्रको परिचयसहित तस्विहरु समेटिएको मिलन केन्द्रका सचिब कुमारबहादुर खड्काले जानकारी दिए ।
स्मारिकामा विभिन्न क्षेत्रमा अनुभव प्राप्त विज्ञहरुको लेखरचना समावेश गरिएको उनले बताए । स्मारिकामा नेपालको प्रशासनिक क्षेत्र, न्याय, कृषि, पशु, उदयपुर जिल्ला र प्राकृतिक विपत्ति, पैतृक सम्पती हस्तान्तरण करको वहस, आयुर्वेद, जलवायु परिवर्तनका सवाललाई मुख्यरुपमा उठान गरिएको प्रधानसम्पादक सुमन बुढाथोकीले बताए ।
त्यसैगरी लागुपदार्थ दुव्र्यसन, उदयपुरको परिचय, सामाजिक सञ्जालले निम्त्याएका असर, वैदेशिक रोजगार, युवापुस्ताका चुनौती, सार्वजानिक चासको बिषयहरु, स्थानीय तहका अवसर र चुनौती, कृषि क्षेत्रमा देखिएका समस्या, उदयपुर जिल्लाको विकास लगायतका कथा, कविता, मुक्तक गरी ५४ वटा बिषय बस्तु समेटिएको उनको भनाई छ ।
१ सय ६७ पृष्ठ लामो स्मारिककाको लोकपर्ण गर्दै जिल्ला न्यायाधिश मनोज केसीले मिलन केन्द्रले जिल्लाकै पहिचान झल्किने गरी स्मारिका प्रकाशन गरेको बताए । पुस्तकले सबै क्षेत्रलाई समेटेको हुँदा सर्बसाधरणका लागि ज्ञानबद्र्धक हुने विश्वास व्यक्त गरे । त्यसैगरी प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले स्मारिकाले जिल्लाको परिचय मात्र नभई राम्रो संस्कारको सुरुवातका लागि पनि पाठ सिकाएको बताए ।
कार्यक्रममा धनुषाको प्रजिअ प्रदिपराज कँडेल, १८ नम्बर वाहिनीका वाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटा, उदयपुर सिमेण्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साह, निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनका अध्यक्ष देवराज कोईराला, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, कपडा बैंकका अध्यक्ष दिनेश श्रेष्ठ लगायतले स्मारिकाको बारेमा टिकाटिप्पणी गरेका थिए ।
सोही अवसरमा मिलन केन्द्रमा आवद्ध हुने नयाँ सदस्य, सल्लाहकारलाई स्वागत, विजया दशमीको अवसरमा शुभकामना आदानप्रदानसमेतको आयोजना गरेको थियो । अधिकृत स्तरका कर्मचारीको विदाई र स्वागतमा मात्र कृयाशिल रहेको मिलन केन्द्र न्यौपाने नेतृत्वमा आएसँगै १ महिनाको अवधिमा विभिन्न सन्देश तथा जनचेतनामुलक ४ वटा कार्यक्रम गरेको छ ।
लागुऔषध दुव्र्यसनमा फसेका युवालाई कसरी मुलधारमा ल्याउने, प्रयोग गर्नबाट कसरी वचाउने बिषयमा आधारित रहेर जिल्ला स्तरीय वक्तृत्वकला, देशको संबिधान, कानुन, संघीय व्यवस्था, संरचनालाई आधारमानी जनप्रतिनिधि, कर्मचारी सम्मिलित हाजिरी जवाफ प्रतियोगिता, गरिव, असाहयलाई सहयोगार्थ विभिन्न निकायको सहकार्यमा सदरमुकाम गाईघाट वजारमा कपडा बैंक (क्लोथ बैंक) र पर्यटन बर्षलाई लक्षित गरी स्मारिका प्रकाशन गरेको अध्यक्ष न्यौपानेले बताए ।









