उदयपुर । पछिल्लो समयमा चाडपर्वका नाममा भएका विकृति विसंगतिले संस्कृतिलाई नै ओझेलमा पार्न थालेको एक कार्यक्रमका सहभागिहरुले बताएकाछन् ।
नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक वहुउदेश्यीय सहकारी संस्था उदयपुरले सोमबार दशै, तिहार र छैठ पर्वको अवसरमा संयुक्तरुपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुले पर्व, संस्कृतिलाई परिमार्जन गर्ने नाममा इतिहास नै समाप्त गर्ने गरी गतिबिधि हुन थालेको प्रति चिन्ता व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी उदयपुरका सचिब इश्वरमणि राउतले, संस्कृति जगेर्णाभन्दा पनि समाप्त नै पार्न खोजेको आरोप लगाए ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले पर्वलाई समाप्त पार्ने गरी जोडेर कार्यक्रमहरु आयोजना गर्न थालिएको बताए । ढिलो छिटो दशै, तिहार जस्ता पर्वहरु हराउँदै जाने प्रति संकेत गर्दै उनले भने, ‘पर्व विलय हुँदैछन्, त्यसैले दशै, तिहार, छैठ भनेर जोडनु भन्दा फरक–फरक ढंगले कार्यक्रम गर्दा उपयुक्त होला ।
कार्यक्रममा बोल्ने वक्ताहरुले संस्कृति संरक्षण गर्दै पर्वलाई आफ्नो गच्छेअनुसार छिमेकीलाईसमेत असर नपुग्ने गरी मनाउन सुझाब दिए । पछिल्लो समय पर्वहरु भडकिलो बन्दै गएको प्रति चिन्तित हुँदै उनीहरुले आफ्नो क्षमताको मापन नै नगरी पर्व मनाउने र सधाका लागि ऋण बोक्ने चलन रहेको बताए ।
संगठनका अध्यक्ष कमला निरौलाको अध्यक्षता र सचिब गणेशप्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा संगठनका केन्द्रिय अनुशासन आयोगका सदस्य जसबहादुर कार्की, नेकपाका नेता परमेश्वर घिमिरे, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष देवराज कोईराला, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, कर्मचारी मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपाने लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया