काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको यौन दुव्र्यवहारको आरोप सत्य नभएको जिकिर गरेका छन् । संसद सचिवालयमा कार्यरत एक महिलाले आफ्नो निवासमा आएर महराले आफूलाई बलात्कार गरेको गुनासो गर्दै प्रहरीले समेत घट्नास्थलको निरीक्षण गरेर गएको बताएकी थिइन् ।
उक्त आरोप लागेपछि महराले आरोपको खण्डन गर्दै आफ्ना प्रेस सल्लाहकारमार्फत विज्ञप्ति जारी गरेका छन् । महराले ती महिनामाथि यौन दुव्र्यवहार गरेको कुराको पहिलो पटक समाचार हाम्राकुरा डट कम  नामक अनलाइनले सार्वजनिक गरेको थियो । हाम्रो कुराको लामो समाचारमा पीडित भनिएकी महिलाले महरा आफै रक्सी लिएर आफू बसेको ठाउँ कोटेश्वरमा आएको, जबरजस्ती रक्सी खान दबाब दिएको र रक्सी खाएपछि आफूमाथि बलात्कारका साथै कुटपिट गरिएको आरोप लगाएकी छन् । महराको सचिवालयको विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो। तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए । सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ ।’
सभामुखको सचिवालयले यो प्रकरणलाई महराको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने सुनियोजित षड्यन्त्र भनेको जिकिर गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भर्त्सना गरे पनि कम हुन्छ ।’

यो पनि पढ्नुस्

तपाईको प्रतिक्रिया