उदयपुर । उदयपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । जिल्लाा प्रहरी कार्यालय उदयपुरका एसपी फेरिएसँगै विभिन्न अपराधिक गतिविधिमा संलग्न भई जिल्ला अदालतबाट दोसी करार भएर फरार रहेका प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ४८ जना फरार प्रतिवादी पक्राउ परेको एसपी बुढामगरले जानकारी दिए ।
उदयपुर जिल्ला अदालतले विभिन्न अपराधिक गतिविधिमा संलग्न दोषी ठहर भई फरार प्रतिवादीहरुका सूचीमा रहेका ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चालु आर्थिक वर्षको दुई महिनामा फरार सूचीमा रहेका ४८ जना प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सवैधन्दा बढी वन मुद्धामा फरार प्रतिवादीहरु पक्राउ परेका छन् । वन मुद्धामा फरार सूचीमा रहेका १५ जना प्रतिवादी पक्राउ परेको छ । लागूऔषधमा फरार ६, जबरजस्ती करणीमा फरार ४, जुवा तासमा ६, जालसाजीमा २ जना परार प्रतिवादी पक्राउ परेको छ । जबरजस्ती करणी उद्योग, सवारी साधन, बहुविवाह, कुटपिट, केही सार्वजनिक अपराध मुद्धामा फरार १÷१ जना रहेका छन् । यस्तै ज्यान सम्बन्धी मुद्धामा फरार ३ जना पक्राउ परेको छ ।
एकै दिन १३ प्रतिवादी पक्राउ
विहिबार उदयपुरका दर्जन बढी अभियुक्तलाई प्रहरीले एकै दिन पक्राउ गर्न सफल भएको छ । लागू औषध, वन, जालसाजी, सार्वजनिक अपराध, जुवातास र कुटपिटलगायत अभियोगमा अदालतबाट वर्षौंअघि दोषी सावित भए पनि सजाय भुक्तान नगरी फरार सूचीमा रहेका १३ जनालाई २४ घण्टाभित्र पक्राउ गरी अदालतको जिम्मा लगाएको उदयपुर प्रहरीले जनाएको छ ।
बुधबार रातिदेखि बिहीबार साँझसम्म पक्राउ पर्नेमा सबभन्दा बढी जुवातास खेलेको अभियोगमा जरिवाना तोकिएकाहरु ६ जना रहेका छन् । जालसाजीका दोषी २ जना, ज्यान मास्ने बेच्ने १ तथा कुटपिट र वन मुद्दाका दोषी १÷१ जना रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । उनका अनुसार पक्राउ पर्नेमा त्रियुगा ६ का ३३ वर्षीय तिलकबहादुर खपाङगी वन मुद्दामा ०७१ कात्तिक ९ गतेको फैसला अनुसार १७ हजार जरिवानाका भागीदार हुन् ।
त्यस्तै जुवातास खेलेको अभियोगमा अदालतले दोषी करार गरी जनही २ सय रुपैंया जरिवाना तोकेकाहरु त्रियुगा नगरपालिका ८ का ३४ वर्षीय राजकुमार राउत, सोही ठाउँका ३६ वर्षीय होमराज दनुवार, ३७ वर्षीय शेखरनाथ पोखरेल, ३८ वर्षीय सन्तोष खड्का, ३६ वर्षीय देवराज कार्की र ३६ वर्षीय नरेन्द्रकुमार सार्की रहेका छन् । उनीहरुलाई ०७२ चैत २१ गतेको जिल्ला अदालत उदयपुरको इजालसले दोषी करार गर्दै सजायको भागीदार बनाएको एसपी मगरले बताए । 
त्यसैगरी अर्का पक्राउ त्रियुगा ६ का २४ वर्षीय मनोजकुमार सदा लागू औषध अपराधमा दोषी ठहर भएका हुन् । उनलाई २ हजार जरिवानाको फैसला अदालतले सुनाएको छ । उनी ०७२ जेठ १ गतेको अदालती फैसला बमोजिम दोषी करार भएका हुन्। त्रियुगा १० का २० वर्षीय अबिलाश राई सार्बजनिक अपराधमा २०७३ साउन ९ गते अदालतबाट दोषी ठहर भई २ हजार जरिवानाको फैसलाका भागीदार भएको बताइएको छ ।
त्रियुगा १० कै ४२ वर्षीय सुशान्त खिलुङगे जालसाजी मुद्धामा ०६८ भदौ ५ गतेको फैसलाबाट २ सय ७७ रुपैया ८८ पैसा जरिवानाको भागीदार रही फरार थिए भने जालसाजी मुद्दामै त्यत्ति नै जरिवानाको भागिदार भएका त्रियुगा १० का ५५ वर्षीय मानबहादुर सार्की पनि ०६८ भदौ ५ गतेको फैसलाका दोषी हुन् ।
२०६२ चैत १४ गते जिल्ला अदालतले ५० रुपैंया जरिवाना तोक्ने गरी फैसला गरेको ज्यान मास्ने बेच्ने अभियुक्त त्रियुगा ६ का ५८ वर्षीय घमानसिंह राउतलाई पनि प्रहरीले सोही जेरमा पक्राउ गरेको जनाएको छ । त्यस्तै कुटपिटको अभियोगमा अदालतले ०७१ जेठ १४ गते ६ सय जरिवाना तोके पनि भाग्न सफल त्रियुगा ६ कै ३२ वर्षीय कपिल चौधरी पनि बिहीबारै पक्राउ परेको एसपी मगरले बताए । पक्राउ सबैलाई बिहीबारै जिल्ला अदालतमा बुझाएर सजाय भुक्तानीको व्यवस्था मिलाउन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।









