
उदयपुर । उदयपुरको एक सामुदायिक वन उपभोक्ता समूहले गरिव, विपन्न निम्न आयस्रोत भएका उपभोक्तालाई सोलार वितरण गरेको छ । त्रियुगा नगरपालिका– १४ साउने स्थित नयाँ प्रगतिशिल सामुदायिक बन उपभोक्ता समूहले सोलार प्यानल वितरण गरेको हो ।
विकास क्रमसँगै गाउँ भित्रिएको विजुली बत्तिको राम्रो प्रभाब नहुँदा झनझटिलो रात्री कालिन समयलाई सहज बनाउने उद्देश्यले आफ्नो उपभोक्ताहरुलाई सोलार बितरण गरिएको समुहको अध्यक्ष मेघजित राईले बताए । अध्यक्ष राईका अनुसार ०७६÷७७ को बार्षिक कार्यक्रम अन्तरगत गरिबी निवारण शिर्षक अन्तर्गत उपभोक्तालाई सोलार बितरण गरिएको हो ।
समुहमा आबद्घ ६० घरधुरी मध्ये गरिव, विपन्न निम्न आय स्रोत भएका १५ घरधुरीको उपभोक्ताहरुलाई एक थान सोलार प्यानल, सोलारमा प्रयोग हुने ब्याट्री र दुईवटा सोलार चिमसहित जडान गर्दा प्रयोग हुने अन्य सामाग्रीहरु वितरण गरिएको समूहको सचिव नारायण बहादुर राईले बताए ।
सचिब राईका अनुसार सोलार वितरण कार्यक्रममा समूहमा आबद्ध एकल महिला, जेष्ठ नागरिक र दलित अपाङ्ग उपभोक्ताहरुलाई पहिलो प्राथमिकतामा राखेर वितरण गरिएको बताए । सोलार वितरण कार्यक्रममा पाँच जना अपाङ्ग, अशक्त र जेष्ट नागरिकहरुलाई आर्थिक सहयोग समेत उपलब्ध गराईएको सचिव राईले बताए । उनीहरुलाई सोलार प्यानल र सहयोग रकम समूहको अध्यक्ष मेघजित राईले हस्तान्तरण गरेका थिए ।
विगतका दिनमा पनि उपभोक्ताहरुलाई आत्मानिर्भर बनाउने कार्यक्रमहरु समूले गर्दै आएको स्थानीय उपभोक्ताहरु बताउँछन् । उनीहरुका अनुसार कृषिमा आधारित कृषक उपभोक्ताहरुलाई कृषि तालिम, सिलाई बुनाई तालिम लगायतका बिभिन्न उत्पादनमूलक कार्यक्रमहरु गर्दै आएको छ ।









