उदयपुर । उदयपुरमा सर्पको टोकाईबाट एक बालिकाको शुक्रबार विहान मृत्यु भएको छ । कटारी नगरपालिका ३ ताराघारी घर भएका महेश बिककी ४ बर्षीय छोरी ऋतिका बिकको सर्पको टोकाईबाट मृत्यु भएको छ ।
शुक्रबार बिहान ४ बजेर ४५ मिनेट जाँदा बिकलाई सर्पले टोकेको थाहा पाएपछि उनलाई नजिकैको सर्प दंश उपचार केंद्र ताराघारी आर्मी क्याम्पमा लगिएको सोही वडाका वडाध्यक्ष राम बहादुर पोखरेल बताए ।
उनका अनुसार ताराघारी सर्प दंश उपचार केन्द्रमा उपचार नहुने भएपछि चोहर्वा आर्मी क्याम्पमा रहेको सर्प दंश उपचार केन्द्रमा लगिएको थियो । त्यहाँ पनि उपचार नहुने भएपछि थप उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष पोखरेलले बताए ।
ऋतिकालाई घरको कोठा भित्र सूती रहेको अबस्थामा सर्पले टोकेको थियो । कोठा भित्रै बैरी करेत सर्पदेखेपछि छोरीलाई बोलाउदा नबोले पछि आँखा नहरेपछि ताराघारी आर्मी क्याम्पमा रहेको सर्प दंश उपचार केन्द्रमा लगेको ऋतिकाका बूबा महेश बिकले बताए । उपचार केन्द्रसम्म ल्याउँदै छोरीको अवस्था गम्भीर भैसकेको रहेछ समयमा भेन्टीलेटरमा राखेर उपचार गर्न पाएको भए छोरी बाँच्ने गहभरी आँशुको धारा बगाउँदै विकले बताए । विकले भने, ‘मेरो छोरीलाई सर्पले टोकेर मृत्यु भएपनि अवका दिनमा म जस्ताको छोरी छोरी उपचार पाउने व्यवस्थित अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गर्दछु ।’
भेन्टिलेटरको अभाव
गर्मी मौसम शुरू हुन साथ उदयपुरमा सर्प दंशका घटनाहरु बाहिर आउने गर्छन । हरेक बर्ष ५ देखि १० जना वर्षेनी सर्पको टोकाईबाट उदयपुरमा मृत्यु हुने गरेको छ । सर्प दंश उपचार केन्द्रमा सामान्य उपकरण र औषधिहरु भएपनि भेन्टीलेटरको अभाबले गर्दा सर्पले टोकेका कतिपय बिरामीहरुलाई तत्काल भेन्टीलेटरको अभावमा ज्यान गुमाउनु परेको छ । गत वर्षपनि भेन्टिलेटरको अभावमा एक बालकको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया