उदयपुर । उदयपुरको कटारी नगरपालिका १० नं. वडा कार्यालयमा स्थानीयले लगाएको ताला नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको टोलीले बिहीबार खोलेको छ । स्थानीय स्वास्थ्य चौकीमा कार्यालय सहयोगी नियुक्तिको विषयमा बिबाद भएपछि असन्तुष्ट पक्षले गत सोमबार लगाएको ताला प्रहरीसहित गएको नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले सहमति जुटाएर खोलेको हो ।
स्वास्थ्य चौकी सोरुङछविसेमा रिक्त कार्यालय सहयोगी नियुक्तिको विषयमा बिबादित भएसँगै असन्तुष्ट पक्षले वडाध्यक्ष नभएको मौका पारी ताला लगाएपछि वडाको नियमित काम कारबाही अवरुद्ध हुन पुगेको थियो । वडाध्यक्ष लीलानाथ भट्टराईले आफु कार्यक्रमको सिलसिलामा कार्यालय बाहिर गएका बेला अज्ञात समूहले तालाबन्दी गरेकाले वडाको काम कारबाही अवरुद्ध हुन पुगेपछि नगरपालिका र इलाका प्रहरी कार्यालयलाई खवर गरेर खोल्न अनुरोध गरेको बताए ।
बिहीबार विहान मेयर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, इलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेमसागर केसीसहितको टोली घट्नास्थल पुगेर बन्द ताला खोलेको भट्टराईले बताए । कर्मचारी नियुक्ति विषयमा बिबाद हुँदा असन्तुष्ट व्यक्तिको समूहले तालाबन्दी गर्दा वडाको कामकारबाही प्रभावित भएपछि आफै पुगेर समन्वय गरी ताला खोलेको मेयर श्रेष्ठले बताए ।
उनले रिक्त दरबन्दी नियुक्ति निष्पक्ष र बिबादरहित वनाउने प्रतिबद्धता जनाएपछि असन्तुष्टपक्ष ताला खोल्न राजी भएको बताए । गत मंसिरमा कर्मचारी नियुक्तिको विज्ञापनमा ६३ जनाले आवेदन परेसँगै बिबाद बढेपछि पदपूर्ति समितिले नियुक्त प्रक्रिया रोकेको वडाध्यक्ष भट्टराईले बताए । बिबादले गर्दा ७÷८ महिनासम्म नियुक्त हुन नसकेपछि निवेदकमध्येकी एक ललिता विष्ट हाजीर भएर स्वयंसेवकको रुपमा खट्न थालेपछि अन्य असन्तुष्टले वडामा ताला लगाएका भट्टराईको भनाई छ ।
विष्टले आफुलाई वडाध्यक्षले काम गर्न खटाएको बताएपछि थप आक्रोसित भएका असन्तुष्टपक्षले तालाबन्दी गरेकाले खोल्नलाई मेयर, हाकिम र प्रहरी गुहार्नु परेको भट्टराईले बताए । प्रमुख प्रशासकीय अधिकृत अर्यालले कर्मचारी भर्नाको विषयमा निष्पक्ष गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएर ताला खोलेको बताए । उनले यसअघि गठित चौकी इन्चार्ज रामकुमार दनुवार संयोजकत्वको छनौट समितिले काम गर्न नसक्ने भएकाले नगरपालिकाबाटै समिति गठन गरेर नियुक्ति प्रक्रिया अघि बढाउने बताए ।

तपाईको प्रतिक्रिया