उदयपुर । उदयपुरमा महिला हिंसाका घटना बढ्दै गएको एक तथ्यांकले देखाएको छ । नेपाल पत्रकार महासंघको सहकार्यमा ओरेक नेपालले सोमबार गाईघामा आयोजना गरेको महिला हिंसा न्युनिकरणमा पत्रकारको भुमिका बिषयक अन्तरक्रियामा गत आर्थिक बर्षमा १ सय ६० वटा घटनाको तथ्यांक प्रस्तुत गरिएको हो ।
घटनामध्ये सबैभन्दा बढि १ सय २६ जना महिला घरेलु हिंसाबाट प्रताडित भएकाछन् । त्यसैगरी बलात्कार १४, प्रयास ४, यौनदुव्र्यवहार ४, सामाजिक हिंसा ९, हत्या १, वेचविखनको प्रयास १ र हिंसाकैकारण आत्महत्या १ रहेको तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार सबैभन्दा बढि २६ देखि ३५ बर्ष उमेर समुहका ६८ जना हिंसाको शिकार बन्न बाध्य भएकाछन् । त्यसैगरी १७ देखि २५ बर्षका ४९ छन् भने ३६ देखि ४५ का २५ जना रहेका छन् । ५५ बर्षभन्दा माथिका २ जना र १६ बर्षभन्दा मुनिका ६ जना बालिका हिंसामा परेको ओरकका कार्यक्रम संयोजक सुमित्रा कोईरालाले बताईन् ।
यसरी हिंसा भएका महिला मध्ये सबैभन्दा बढि श्रीमानबाट १ सय ८, छिमेकीबाट २३, परिवारका सदस्यबाट १८, सेवाप्रदायक संस्थाबाट २, कुनैपनि सम्बन्ध नभएका व्यक्तिबाट ५, साथीबाट २ र नजिकको साथीबाट २ रहेको उनले बताइन् । तथ्यांकले घटना हुनुकोकारणकोरुपमा परपुरुषसँगको लाल्छना, दाईजो र सामाजिक संजालको सही सदुपयोग नगरेको जस्ता रहेकाछन् ।
विगत १४ बर्षदेखि महिला हिंसाका अभिलेखलाई व्यवस्थित गर्दै आएको ओरेकले हिंसामा परेका महिलाहरुलाई मनोविमर्श, सुरक्षावास, तथा कानुनी सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार कौशल चेम्जोङ्गले महिला हिंसा न्युनिकरणमा पत्रकारको भुमिकाका सन्र्दभमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले जिल्लामा भएका महिला हिंसाका घटना, सञ्चारमाध्यममा आएका समाचार, विश्वका अभ्यास, विभिन्न देश तथा नेपालको सर्वेक्षणका बारेमा प्रस्तुत गरेका थिए । त्यसैगरी हिंसा न्युनिकरणमा पत्रकारले खेल्नु पर्ने भुमिका, उपाय, शब्दचयन, तस्विर, भाषा, आचारसंहितामा भएका व्यवस्था र कानुनी उपचारका बिषयमा प्रष्ट्याएका थिए ।
कार्यक्रममा महिलाका सवालमा मिडियाका कन्टेनहरु बदल्नु पर्ने, दोष जति महिलालाई मात्र थोपर्ने गरी प्रकाशित समाचार, अश्लिल तस्विर, भाषा, शैली, सम्बेदनशिलतालाई ख्याल गर्नु पर्ने धारणा राखेका थिए । उनीहरुले प्रहरीको अनुसन्धान र अदालतले गरेका गलत र राम्रो ढंगले गरेका फैसलालाईसमेत ध्यानदृष्टि राखी समाचारहरु प्रकाशन गरिनु पर्ने उपस्थितहरुले बताए ।









