उदयपुर । बेखर्ची भई अलपत्र परेका यात्रुलाई यहाँका अटो चालकहरुले रकम जुटाई सहयोग गरेका छन् । बेखर्ची भई त्रियुगा बस पार्कमा अलपत्र भएकी ओखलढुंगाकी महिला विष्णु गिरीलाई सिटी स्टार प्रा.लि.मा आवद्ध अटो चालकहरुले आइतबार रकम जुटाई सहयोग गरेका हुन् ।
तीन बालबालिकासहित अलपत्र परेकी उनलाई चालक तथा व्यावसायीहरुले आ–आप्mनै पहलमा सय, पचास रुपैयाको दरले रकम जुटाई एक हजार तीनसय रुपैया सहयोग दिए । हेर्दा सामान्य भएपनि एउटा समस्यामा परेकी महिलाको लागि ठूलो सहयोग भएको छ ।
आफुसंग भएको तीन हजार रुपैया चोरी भयो वा कतै हरायो पत्ता नपाएकी उनी एक भदा र दुई छोरीसहित अलपत्र अवस्थामा देखेपछि सहयोग जुटाइ दिएको सिटि स्टारका कोषाध्यक्ष नारायणप्रसाद दाहालले बताए । । बसपार्कमै उनीहरुले सामुहिकरुपमा महिलालाई रकम हस्तान्तरण गरेका थिए ।
अलपत्र परेको एक यात्रु महिलालाई मानवीय सहयोगको रुपमा पैसा उठाएर सहयोग गरेका उनीहरुले आफुहरु भाडा उठाउने मात्र नभएर सामाजिक सेवाको भावले पनि काम गरिरहेको बताए । सहयोग पाउँदा गिरीले खुसी व्यक्त गरिन् । उनले जीवनमा यो गुण तिर्न नसक्ने भन्दै सहयोगीहरुलाई आशिर्वादसमेत दिइन् ।









