काठमाडौं / फिरौती र संगठित अपराध आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापालाई स्विट क्याबिनको सुविधा दिएको पाइएको मित्र भणडरीले नेपाल समयमा समाचार लेखेको छ ।
प्रहरी हिरासतमा रहनुपर्ने अभियुक्तलाई बसुन्धरास्थित चिरायु अस्पतालको स्विट क्याबिनमा राखिएको छ । गृहमन्त्री थापाका भाइ रहेको खुलेपछि सिआइबीले हिरासतमा नराखी बिरामीको बहाना बनाएर राखेको छ । सो क्याबिनको शुल्क दैनिक ११ हजार ८ सय ६५ छ । नरेश गृहमन्त्री थापाका साहिँला भाइ हुन् । उनी भारतीय सेनाका अवकाशप्राप्त हबल्दार हुन् ।
अस्पताल स्रोतका अनुसार नरेश थापालाई उपचार गर्नुपर्ने त्यस्तो कुनै रोग देखिएको छैन । नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारी भन्छन्, ‘फोक्सोमा सामान्य समस्या देखिएको भन्दै सिआइबीले गत बिहीबार भर्ना गरेको हो । उनको उपचारमा लाग्ने रकम पनि सिआइबीले नै बेहोर्ने गरी भर्ना गरिएको छ ।’
नरेशले निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार गुन्डा नाइके समीरमानसिंह बस्नेत समूहमा आबद्ध भएर व्यवसायीसँग पैसा असुलीमा संलग्न रहेको पाइएपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले गत बिहीबार पक्राउ गरेको थियो ।
आफूविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेपछि फरार थापा आफैं प्रहरीसँग सम्पर्कमा आएका थिए। सिआइबीले एक महिनाअघि बस्नेतको समूहका पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गरी संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो ।
पक्राउ परेका दुवै जनाले नरेश थापाको समेत नाम पोलेपछि उनीविरुद्ध सिआइबीले मुद्दा दायर गरेको थियो । स्रोतका अनुसार पक्राउ पर्नुअघि नरेश र गृहमन्त्री रामबहादुरको नाता खुलेको थिएन ।
गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेत जेलमा छन् । उनले जेलभित्रैबाट व्यापारीलाई धम्क्याएर पैसा असुली गरिरहेको खुलेको छ ।
सिआइबीका अनुसार जेलमा रहेका बस्नेतको समूहले बाहिरबाट दुई दर्जन बढी निर्माण व्यवसायीलाई पैसा नदिए ज्यान मार्ने धम्की दिएपछि उनीहरुले सिआइबीमा उजुरी गरेका थिए । धम्की दिने समूहको कल ट्रेस गर्दा थापाका भाइ नरेश थापासमेत संलग्न देखिएपछि सिआइबीले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
दुईभन्दा बढी व्यक्ति व्यक्तिको संलग्नतामा कुनै अपराधमा जेडिएको पाइए त्यस्ता व्यक्तिलाई प्रहरीले संगठित अपराधमा मुद्दा अगाडि बढाउँछ ।
गौचन हत्या आरोपमा पक्राउ परेका गुण्डा नाइके बस्नेत केन्द्रीय कारागार सुन्धारामा छन् । नरेशले बस्नेतसँग मिलेर ठेकेदारलाई धम्क्याएको प्रहरीले दाबी गरेको छ ।
प्रहरी उच्च स्रोतका अनुसार गृहमन्त्रीको आदेशमा नरेशलाई बिरामीको बहाना बनाएर अस्पतालमा भर्ना गरिएको हो । उनलाई छुटाउन गृहमन्त्रीले प्रहरी मुख्यालय र केन्द्रीय अनुसन्धान ब्युरोलाई दबाब दिँदै आएका छन् ।
सिआइबीका प्रवक्ता दीपक रेग्मीले भने, ‘पक्राउ परेका नरेशमाथि मुद्दा अगाडि बढिसकेको छ । पक्राउ परेका अभियुक्त अस्वस्थ भएमा उपचार गर्न पाउने भएकाले सिआइबीकै निगरानीमा उपचार भइरहेको छ ।’ साभार : नेपाल समय डट कमबाट

तपाईको प्रतिक्रिया