चितवन / थारु महिलाहरुको चाड जितिया पूर्वसन्ध्यामा ‘आयो रे जितियो’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। चितवनको सौराहामा थारु पत्रकार संघको चौथो महाधिवेशनको उद्घाटन समारोहमा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्दै थारु महिलाहरुको जितियालाई शक्तिकरणको रुपमा मनाउनु पर्ने बताइन्।
उनले भनिन्, ‘थारु संस्कार र चाडपर्वलाई जोगाउन युवाहरु लाग्नु जरुरी छ। जितिया लगायत थारुका धेरै पर्वहरु लोप हुन नदिन युवाको अहम भूमिका हुन्छ।’ आयो रे जितिया गीतमा तीनजना गायक/गायिकाहरु रोहित सिंह चौधरी, अनु चौधरी, समीक्षा चौधरीले सुमधुर स्वर दिएका छन्।
महरजिया महातो र रोहित सिंह चौधरीको शब्द रचना रहेको उक्त म्यूजिक भिडियोमा रोहित सिंह चौधरीकै संगीत रहेका छन्।
यस्तै गीतको सम्पूर्ण छायांकन सन्तकुमार चौधरीले गरेका छन् भने सम्पादन सुरेश चौधरीले गरेका छन्। थारु भेषभूषामा सजिएर जितियाको गीतमा सुटिङ अभ्यास गर्दै चितवनियाँ थारु युवायुवतीहरु। जितिया नजिकिँदै जाँदा उनीहरुले थारु पहिरनमा म्यूजिक भिडियो बनाउन लागेका हुन।
चितवनको थारु भेषभूषामा सजिएर थारु कलाकारहरु वीर चौधरी, विष्णु पञ्जियार र रोहित सिंह चौधरीले मुख्य भूमिका निर्वाह गरेका छन् भने उनीहरुलाई स्थानीय थारु युवायुवतीहरुले साथ दिएका छन्।
अजय महतोले म्यूजिक भिडियोको उत्कृष्ट कोरियोग्राफी गरेका छन् भने हिरा चौधरीले निर्देशन गरेका छन्। गीतमा थारु महिला पुरुषले उत्सवको रुपमा मनाइएको देखाइएको छ।









