उदयपुर / उदयपुरमा मान्छे ओसारपसार गर्ने १५ वटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिहार सकिने बित्तिकै ट्रयाक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका–८, मा ट्रयाक्टर दुर्घटनामा तीनजनाको ज्यान मृत्यु र ३४ घाइते भएपछि सोमबारदेखि प्रहरीले उदयपुरमा ट्रयाक्टरमा मान्छे बोक्न प्रतिबन्ध लगाएको हो ।
सोमबार बिहान प्रहरीले उदयपुरको सदरमुकाम गाईघाट क्षेत्रबाट पिकनिक जान मान्छे बोकेर हिँडेको १५ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज अमृत बहादुर कार्कीले जानकारी दिए । यसैगरी जिल्लाको त्रियुगा नगरपालिका– २, भुल्केबाट तीन वटा ट्रयाक्टर, देउरी र बगाहा मोतिगडा क्षेत्रबाट सात, लालपत्ताबाट दुई वटा ट्रयाक्टर, पूर्वी क्षेत्रको बेल्टार बसाहा क्षेत्रबाट एक वटा पिकनिकका लागि मान्छे चढाएर सञ्चालन गरेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको इन्चार्ज कार्कीले बताए । मान्छे बोक्ने ट्रयाक्टरलाई विहान नियन्त्रणमा लिएर बेलुका ५ बजे छोडिएको इन्चार्ज कार्कीले जानकारी दिए । उनले भने– ‘ट्रयाक्टर चालक र ट्रयाक्टर धनीलाई अव उपरान्त मान्छे नबोक्ने सर्तमा छोडिएको हो । नियन्त्रणमा लिएको ट्रयाक्टरबाट जरिवाना स्वरुप १७ हजार राजश्व समेत जम्मा भएको छ ।’
अहिले गाईघाट लगायत जिल्लाको सबै क्षेत्रमा मान्छे बोकेर हिँड्ने ट्रयाक्टरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको कार्कीले जानकारी दिए । उनका अनुसार मंगलबारबाट जिल्लाको सवै क्षेत्रमा ट्रयाक्टरबाट मान्छे बोक्न प्रतिबन्ध लगाउने परिपत्र भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया