काठमाडौं । आत्महत्या दुरुत्साहनको अभियोगमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जना विरुद्ध जिल्ला अदालत चितवनमा आइतबार मुद्दा दर्ता भयो । तर, १० दिन न्यायिक हिरासतमा राखेर प्रहरीले उनीहरू विरुद्ध कस्तो प्रमाण जुटायो त ?
शालिकराम पुडासैनीले रेकर्ड गरेको भिडियोका आधारमा मात्रै दुरुत्साहनको मुद्दा बलियो नहुने अवस्थामा प्रहरीका लागि थप प्रमाण खोज्नुपर्ने चुनौती हो । तर त्यसमा खास सफलता नमिलेपछि अनुसन्धानमा संलग्नहरू उत्साहित छैनन् । नेपाल न्यूजमा उजिर कार्कीले समाचार लेखेको छ ।
‘मृतकले भिडियोमा लगाएको आरोप पुष्टि गर्ने बेग्लै प्रमाण खासै फेला परेनन्,’ चितवन प्रहरीलाई अनुसन्धानमा सहयोग गरिरहेको केन्द्रीय अनुसन्धान व्युरो(सिआइबी) स्रोत भन्छ ।
‘भिडियोलाई आधार मान्दा म्याच भएको एउटै कुरा हो– तीनै जना मृतकसँग सम्बन्धित मानिस हुन् । तर आरोपसँगै म्याच हुने केही विशेष फेला परेन,’ एक अनुसन्धान अधिकृत भन्छन् ।
नेपाल प्रहरीसँग भिडियोकेन्द्रित अनुसन्धानबाहेकको विकल्प पनि छैन । लामिछाने, अर्का सञ्चारकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीको मोबाइलको विधि विज्ञान परीक्षण गरी पक्राउ गरिएको जिकिर गरिए पनि त्यो परीक्षणको ‘इन्पुट’ के हो र त्यसले अनुसन्धानलाई कहाँसम्म र्पुयायो भन्ने खुल्न बाँकी नै छ ।
चितवन प्रहरीले भिडियोभन्दा बाहिर ठोस प्रमाण जुटाउन नसकिरहँदा देशभर आरोपी लामिछानेका पक्षमा प्रदर्शन चर्कंदै गएपछि नेपाल प्रहरी र गृह प्रशासन दबाबमा परेका छन् ।
‘यो केसमा नेपाल प्रहरीबाट सुदृढ रणनीतिक अनुसन्धान हुन सकेन,’ नेपाल प्रहरीकै एक उच्च अधिकारी भन्छन्,‘यस्ता केसमा संदिग्ध भनिएकालाई बाहिर राखेरै पनि योभन्दा प्रभावकारी छानबीन गर्न सकिन्थ्यो ।’
‘यसरी राष्ट्रिय स्तरमा चासो र समस्या हुने मुद्दामा हात लाग्यो शुन्य पाराले जानुहुन्न,’ ती अधिकारी भन्छन् ।
प्रहरीले आइतबार अभियोजक सरकारी वकिल कार्यालयलाई मिसिल बुझाएपछि उक्त कार्यालयले जिल्ला अदालतलमा मुद्दा दर्ता गरेको हो । र, अब वादी सरकार पक्ष र प्रतिवादीबीच थुनछेकको वहस भएपछि मुद्दाको अबको मार्ग प्रष्ट हुनेछ । आइतबार नर्स कार्कीको बयान सकिएको छ । बयानमा कार्कीले भिडियोमा पुडासैनीले लगाएको आरोप अस्वीकार गर्दै आफू निर्दोष भएको जिकिर गरेकी छिन् । लामिछाने र कँडेलको बयान सोमबार हुँदैछ ।’
‘भिडियोकै भरमा मुद्दा चल्नु गलत नजिर’
अपराध अनुसन्धानमा विशेषज्ञता राख्ने पुर्व डिआइजी हेमन्त मल्ल मृतकले भिडियोमा लगाएको आरोपकै आधारमा मुद्दा चलाउन थाल्नु गलत नजिर हुने बताउँछन् । उनी भन्छन्, ‘यतिलाई मात्रै प्रमाण मान्न थाल्ने हो भने आत्महत्याका हरेक घटनामा कोही न कोही फस्न थाल्छन् ।’
‘भिडियोमा लगाइएका आरोप पुष्टि भए कि भएनन् ? के ती प्रमाणले आत्महत्या गर्न वाध्य भएको हो भन्न सकिन्छ ? यी प्रश्न महत्वपूर्ण छन्,’ उनले भने ।
आत्महत्या गर्नेले सुसाइड नोट वा अन्य तरिकाबाट खुलाउने कारणलाई कानुनी जगमा स्थापित गर्न कठिन हुने मल्लको भनाइ छ । ‘कोही एसएलसी फेल हुँदा वा कोही उपचार गर्न नसक्दा आत्महत्याको अवस्थामा पुगेका छन्, तर त्यसमा पनि पोलिएकालाई तान्दै जाने हो भने के अवस्था आउला ?’ उनी भन्छन् ।
नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले चितवन प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको हुनाले अब बाँकी प्रक्रिया अदालतबाट निर्वाह हुने प्रतिक्रिया दिए ।
पत्रकार शालिकराम पुडासैनी साउन २० गते चितवनको कंगारु होटलमा मृत भेटिएका थिए । घटनाको ९ औं दिनसम्म मौन प्रहरीले सञ्चारमाध्यममा भिडियो बाहिरिएपछि त्यसमा आरोपितलाई पक्राउ गरेको हो ।
साउन ३० गते पक्राउ गरी चितवन लगिएका लामिछानेसहित तीनजना विरुद्ध मृतकका परिवारले पछि मात्रै किटानी जाहेरी दिएका थिए । उनीहरूलाई दुई पटक म्याद थप गरी १० दिन न्यायिक हिरासत राखिएको हो ।









