‘विल भर्पाइ बुझाउन तीन दिनको समय दिएर पत्र काटेको र बुझाउन आलटाल गरेमा नियमसम्बद्ध प्रक्रियागत रुपमा अघि बढ्छौं,’ सभापति गन्गाईले भने । यसअघि प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै आवश्यक छानबिनका लागि पत्र काटेर सार्वजनिक लेखा समितिले प्रतियोगिता आयोजक समितिका संयोजक किरण राईलाई वयानका लागि बोलाएको थियो । समितिका सभापति गन्गाईले भने, ‘साउन १७ गते नै छानबिनका लागि विल भौचर बुझाउन भन्दा आयोजक पक्षले हप्ता दसदिनको समय लाग्छ भनेको थियो । तर अहिलेसम्म बुझाएको पाइएन ।’

समितिले माग गरे बमोजिम विल भौचर बुझाएपछि फुटबलका विज्ञसँग सरसल्लाह लिँदै आफूहरु अघि बढ्ने समितिका सभापति गन्गाईको भनाइ छ । खेलका समय अंकका आधारमा जित हात पारेको टोली तेह्रथुमलाई किन बाहिरिन बाध्य पारियो र प्रतियोगितामा भएको आर्थिक अनियमितताको विषयमा बुझ्नका लागि प्रदेश १ मा रहेका फुटबलविज्ञसँग थप छलफल गर्ने समितिको भनाइ छ ।

त्यसैगरि, छानबिन समितिका सदस्य एवं नेकपाका प्रदेश सभासदस्य कुलप्रसाद साम्बा लिम्बूले छानबिन समितिले यसविषयमा गम्भीर भएर काम गरिरहेको बताए । समितिमा बुझाएका सबै कागजपत्र हेर्न भ्याइनसकेको बताएका लिम्बूले यस विषयमा आर्थिक र प्राविधीक दुइपाटो भएर काम गर्नुपर्ने उल्लेख गरे । उनले भने, ‘यस विषयमा अब आर्थिक पक्ष लेखा समितिले र प्राविधिक पक्ष सामाजिक विकास समितिले हेर्नेछ ।’ यसअघिको छानबिनका क्रममा प्रतियोगिता आयोजक समितिले लेजर, प्राविधीक रिपोर्ट, खर्च भौचर लगायत गरि कुल १७ वटा कागजपत्र छानबिन समितीलाई बुझाएको थियो ।

तपाईको प्रतिक्रिया