उदयपुर । कला संस्कृतिको संरक्षण, प्राकृतिक सम्पदा र पर्यटन प्रवद्र्धन तथा स्रष्टा सम्मान हाम्रो अभियान भन्ने मुलनाराका साथ प्रथम कटारी ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी कटारी नगरपालिकाको आयोजनामा प्रथम कटारी ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सव आगामी असोज ११ गतेदेखि असोज १७ गतेसम्म हुने भएको छ ।
नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन कटारीलाई सगरमाथाको प्रवेशद्वारको रुपमा चिनाउन चौथो नगर सभाले महोत्सवको लागि १५ लाख रकम विनियोजन गरेको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ (काजी)ले बताए । उनका अनुसार सगरमाथा लगायतका हिमशृंखलाको चुचुरोमा पुग्ने पर्यटकहरु हवाई मार्गको प्रयोग गर्ने गरेको तर अहिले अधिकांश पर्यटकहरु पैदलमार्ग रोज्ने गरेको हुँनाले उदयपुरको कटारीलाई सगरमाथाको मुख्यद्वारको रुपमा चिनाउन महोत्सवको आयोजना गरिएको बताए । पर्यटकहरुलाई सगरमाथाको चुचुरो पुग्न पैदलमार्गको द्वार कटारी हो भन्ने जानकारी गराउनुको साथै स्थानीय गैडा आहाल लगायतका ठाउँको बारेमा आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी गराउन महोत्सवको आयोजना गर्न लागेको मेयर श्रेष्ठले बताए ।
यस्तै महोत्सवमा करिव १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य रहेको नगर प्रमुख श्रेष्ठले बताए । उनका अनुसार महोत्सवको मुख्य आकर्षक विभिन्न जातजातिको भेषभुषा तथा कला संस्कृतिको प्रदर्शनी साथै मौलिक सांस्कृतिको जगेर्ना गर्ने, पहिचान, ख्याति प्राप्त राष्ट्रिय स्तरका कलाकारहरुद्वारा मनोरञ्जन दिलाउने तथा लुकेर रहेका स्थानीय कला प्रतिभालाई अघि बढ्न प्रोत्साहन गर्ने, कला संस्कृतिको माध्यमबाट समाजमा भैरहेको विकृति विसंगती विरुद्ध जनचेतना जगाउने, कृषि जन्य तथा सिपमूलक सामग्रीको प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवको लागि २८ लाख २५ हजार बराबरको आय व्यायको अनुमान गरिएको महोत्सव संचालन समितिका अध्यक्ष टेक बहादुर मगरले बताए । उनका अनुसार प्रायोजक र सहप्रायोजक कस्ले गर्ने विषयमा व्यवसायीहरुसँग कुराकानी भईरहेको बताए ।
भूगोलपार्क कटारीको पहिचान
स्थानिय सरकारले कटारी नगरपालिकामा निर्माण गरेको भूगोलपार्क कटारीलाई चिनाउन केहि हदसम्म सफल भएको छ । बजारको मूख्य केन्द्र गोलपार्क वर्षौदेखि विभिन्न योजनामा रहेको भएपनि निर्माण सम्पन्न भएको थिएन । नगरपालिकाले यसलाई नयाँ स्वरुप दिएर सिद्धिचरण राजमार्गबाट आउजाउ गर्ने आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण भने दिएको छ ।
भूगोल पार्कको योजनामा वातावरण संरक्षण र पर्यावरण जोगउन सर्वसाधरणलाई सचेत गराउने उद्देश्य राखिएको थियो । ‘वातावरणको संरक्षण गरौं, पृथ्वीको पर्यावरण जोगाउँ’ भन्ने सन्देश दिने स्माकर सहितको पार्क निर्माण सम्पन्न भएको छ । पार्कमा हिमाल, पहाड, तराई र कटारी नगपालिका क्षेत्रका आदिवासी दनुवार जातिको प्रतिनिधित्व गर्ने ७ जना सर्वसाधारण आफै चारै तिरबाट पृथ्वी बोकिरहेको स्मारकसहितको पार्क निर्माण भएको छ ।
अहिले यहाँबाट आउजाउँ गर्ने देखि स्थानियहरुले समेत पार्कलाई पृष्ठभूमि बनाएर फोटो खिच्ने र सामाजिक संञ्जालमा पोष्ट गर्ने क्रम बढ्दो छ । यसले कटारीलाई विश्वसामु पुराउन पहल गरिरहेको छ । त्यसैगरी कटारी नगरपालिकाकै वडा नम्बर ३ मा रहेको महादेव गुफाको माथिल्लो क्षेत्रमा रेलिङ्ग र बसाहा राखेर नगरपालिकाले दिगो काम गरेको देखिएपनि यस वर्ष पछिसम्म रहिरहने आयोजनाहरु बजेटमा पारेको देखिन्दैन ।

तपाईको प्रतिक्रिया