अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा रहेको रियो ग्राण्ड नदी तर्ने क्रममा बाबु छोरीको मृत्यु भएको तस्बिर विश्वभरका मिडियाहरुमा प्रकाशित भएको छ र यसलाई अमेरिका प्रवेश गर्ने सपनाको एउटा दुःखद अन्त्यका रुपमा हेरिएको छ।
मध्ये अमेरिकाको छिमेकी एस साल्भाडोरका ओस्कार एलबर्टो मार्टिनेज रेमिरेज र उनकी छोरी भ्यालेरियाको उक्त तस्बिर एउटा मेक्सिकन अखबारले मंगलबार छापेको थियो।
यो तस्बिरमा शरणार्थीका रुपमा अमेरिका प्रवेश गर्न खोजेका एक पिता र उनको टिसर्टभित्र बसेर पितासँगै नदी तर्न लागेकी बालिकाको शब नदीको किनारमा अल्झिएको देखिन्छ।
यी बाबुछोरीको मृत्युलाई अमेरिकाको नयाँ भिषा नीतिको दुष्प्रभावका रुपमा पनि हेरिएको छ।
उक्त नदी मेक्सिको र अमेरिकन सीमाको रियो ग्राण्ड हो। एजेन्सीहरुका अनुसार मार्टिनेज विगत लामो समयदेखि आफ्नो परिवारसहित अमेरिका जाने तयारी गरिरहेका थिए। तर उनी आफ्नो प्रयासमा सफल हुन सकेनन्। उनले अमेरिका पुगेर शरणार्थीका रुपमा बस्न चाहन्थे त्यो सम्भव भएन।
त्यस्तो नभएपछि उनले अबैधरुपमा अमेरिका प्रवेशको योजना बनाए अनि पत्नी र छोरी लिएर हिँडे। त्यही शिलशीलामा आइतबार नदी पार गर्ने क्रममा सो घटना भयो।
घटनाबारे थाहा पाएपछि एस साल्भाडोरका अलेक्सजेन्ड्रा हिलले ज्यान जोखिम पारेर अमेरिका प्रवेशको प्रयास नगर्न अपिल गरेका छन्।
विश्वभरका हजारौं मानिस अबैधरुपमा सोही बाटोबाट अमेरिका प्रवेश गर्ने गरेका छन्।
सोनोरोम मरुभूमीदेखि रियो ग्राण्ड नदीसम्म अहिले हजारौं शरणार्थी अमेरिका प्रवेशको सपनामा जम्मा भएर बसेका छन्। अमेरिकाले सीमा क्षेत्रमा पर्खाल लगाइरहेको छ। गत वर्षसम्म सोही सीमाबाट थुप्रै मानिस अमेरिका प्रवेश गरिसकेका थिए। सो क्रममा गत वर्षमात्रै २८३ जनाको मृत्यु भएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकालमा सबैभन्दा बढी प्रतिष्ठाको विषय बनाएको सोही सीमा क्षेत्र हो। उनले आगामी कार्यकालका लागि पनि राष्ट्रपति पदका लागि दाबेदारी दिइसकेका छन् र शरणार्थी प्रवेशलाई कडाई गर्ने घोषणा गरेका छन्।
सन् २०१५ मा सिरियाली एक बालिका एलन कुर्दीको तस्बिरले विश्वभरका मानिसहरुको मन छियाछिया बनाएको थियो। समुद्रको किनारमा ती बालिकाको शब देखेर सबैको आँखा रसाएको थियो।