उदयपुर । लागुऔषध दुव्र्यसन तथा कारोवारीको संख्या दिनदिनै बढ्न थालेपछि नियन्त्रणका लागि उदयपुरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषध रहित स्वास्थ्य जीवन’ भन्ने मुलनाराका साथ जिल्ला प्रशासन कार्यालय उदयपुरले विभिन्न निकायसँग समन्वय गरी आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम विविध कार्यक्रम आयोजना गरि समापन गरिएको हो ।
प्रशासनले लागुऔषध कारोवारी हुने ठाउँलाई लक्षित गरी सचेतना, औषधि पसलको अनुगमन, लागुऔषध, कारोवारी र जिल्लामा उत्पादत हुने गाँजा खेतीको पहिचान तथा नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले बताए ।
उनले भने, ‘अभियान लिएर बिद्यालय, समुदाय, टोलमा पुगेका छौ र सम्भावित गाँजा खेती हुने क्षेत्रको अध्ययन गरी विरुवा नष्ट गर्ने काम भएको छ ।’ भन्छन्, ‘हिजोसम्म गाँजा खेती नष्ट गर्ने मात्र काम भयो, लगाउनेलाई कारवाही भएन यसपटक लगाउने वा जग्गा दिनेलाई कारवाही गर्छौ ।’
उनले सबै किसिमको विकृत विसंगती हटाउनका लागि प्रदेश सरकारले सञ्चालन गरेको बिद्यालय स्तरमा ‘टिन्स क्लव’ गठन प्रकृया बिद्यालयमा गई सुरु गरिएको जानकारी दिए । उनका अनुसार टिन्स क्लबले लागू नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नगर क्षेत्रमा रहेका २० हजार घरधुरी लागुऔषधमा सुरक्षित छन भन्ने गरी अभियान सञ्चाल गर्ने तयारी भईरहको बताए ।
लागुऔषध सेवन गर्ने स्थान भनेको सार्वजानिक ठाउँ, बिद्यालय, पर्यटकिय क्षेत्र रहेकाले यी क्षेत्रमासमेत सुरक्षित गर्न कार्यक्रम सञ्चालन गरिने बताए । त्यसैगरी जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईले बढ्दो वेरोजगारकाकारण युवाशक्ति कुलतबाटोमा फसेकाले स्वरोजगारमुलक कार्यक्रम मार्फत उनीहरुलाई पुरानै अबश्थामा फर्काउनु पर्ने बताईन् ।
उनले युवायुवतीहरु अन्जानबस लागुऔषध सेवनतर्फ फसेकाले उनीहरुलाई सुधार गर्नका लागि सबैको दायित्व सम्झी अभियानहरु सञ्चालन गर्नु पर्ने बताईन । लागुऔषध कारोवार तथा सेवन बर्षेनी ११ दशमलव ५० प्रतिशतले बढ्दोक्रममा रहेको छ ।
त्यसैगरी देशभर भएका अपराधिक घटनामध्ये ७ प्रतिशत लागुऔषध सेवनकै कारण हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले जानकारी दिए । उदयपुरको हकमा भने प्रत्येक ३ घर बराबर १ जना लागुऔषध सेवनकर्ताको संख्या रहेको तथ्यांकले देखाएको छ । कार्यक्रममा सहभागिहरुले लागुऔषध नियन्त्रणका लागि परिणाम आउने गरी कार्यक्रममा गर्नु पर्ने धारणा राखे ।










