उदयपुर । जिल्लाकै प्रमुख केन्द्रको रुपमा हेरिएको त्रियुगा नगरपालिकाले शिशु कक्षादेखि माध्यमिक तहसम्म अँग्रेजीमा शिक्षण, सवै वडामा स्वास्थ्य चौकी स्थापना, एक घर एक धारा र चर्पी, एक वडा एक उत्पादनमा जोड दिने लगायतका कार्यक्रम सहित आर्थिक वर्ष ०७६÷७७ को आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
मंगलबार चौथो नगर सभा गरेर नगरपालिकाले नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । जनप्रतिनिधि र नगरपालिकाको कर्मचारीको साथै केही संचारकर्मीको मात्रै उपस्थित रहेको नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले बढी महत्वकांक्षी र आशामुखी कार्यक्रम मात्रै प्रस्तुत गरेको छ ।
प्रथम आवधिक योजनाले निर्दिष्ट गरेको लक्ष्य र उद्देश्य प्राप्त गर्ने कार्यक्रमलाई पछ्याउँदै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
भौतिक पूर्वाधार सम्बन्धी नीतिहरुमा आवश्यकता अनुसार सर्वेक्षण, डिजाइन, सम्भाव्यता अध्ययन, विस्तृत परियोजना दस्तावेज डिपिआर तयारी आदि कार्यको मापदण्ड निर्धारण गरी प्राविधिक अध्ययन गरिने, निश्चित मापदण्डका आधारमा नगर गौरवका आयोजनाहरुको पहिचान र संचालन गर्ने जस्ता कार्यक्रम रहेको छ ।
आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी नीतिमा शिशु कक्षादेखि माध्यमिक तहसम्म अंग्रेजी माध्यममा शिक्षण सिकाइ गरिने कार्यक्रम प्रस्तुत गरेको छ । नमूना विद्यालयका लागि हरित वातावरणमैत्री, प्रविधियुक्त, पर्याप्त विषयगत शिक्षकहरु, खेल मैदान भएको सुविधासम्पन्न विद्यालय स्थापना वा स्तरवृद्धि गरिने नीति तथा कार्यक्रममा छ ।
स्वास्थ्य, जनसंख्या तथा पोषण सम्बन्धी नीतिहरुमा सवै वडामा स्वास्थ्य चौकी र पायक पर्ने स्थानमा केन्द्र स्थापना एवं निर्माण गरी नगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थालाई भौतिक पूर्वाधार सम्पन्न बनाउनुको साथै तिनको निर्माण, स्तरोन्नति र उपकरणहरुको जडान गरिने सम्मको योजना रहेको छ । किशोर किशोरीमैत्री प्रजनन स्वास्थ्य सेवाका साथै जेष्ठ नागरिक जीवन सुरक्षा कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा रहेको छ । स्थानीय स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकी वा अस्पतालबाट ७० वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने सम्मको योजना रहेको छ ।
कृषि तथा पशु विकास सम्बन्धी नीतिहरुमा स्थानीय सम्भाव्यताका आधारमा उत्पादन योग्य नगदे बाली तथा पशुपालनमा आधुनिक प्रविधिको प्रयोग र व्यावसायीकरणलाई बढावा दिँदै उत्पादन तथा उत्पादकत्वको अभिवृद्धि गर्ने, कृषकहरुको सीप अभिवृद्धि र प्रविधिमा पहुँच विस्तार गर्न कार्यक्रमिक र संस्थागत सुधार गर्ने, प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र स्थापना र परम्परागत हाट बजार केन्द्र व्यवस्थापन गरी स्थानीय कृषि बजार र निर्यात प्रवद्र्धन गर्ने कार्यक्रम रहेको छ ।
बैदेशिक रोजगारबाट फर्केका कृषकको ज्ञान, सीप र अनुभव भएकालाई प्रयोग गर्ने उचित वातावरण सिर्जना गरि राज्यबाट प्रदान गरिने सेवा र सहुलियत उपलब्ध गराउन सहजीकरण गर्ने जस्ता कार्यक्रम रहेको छ ।
युवा तथा खेलकुद विकास सम्बन्धी नीतिहरुमा खेल मैदान देखि कृषिलाई मर्यादित पेसाका रुपमा स्थापित गराई युवालाई व्यावसायिक कृषि कार्यमा संलग्न हुन उत्प्रेरणा प्रदान गर्ने, वित्तीय संस्थाहरुको कृषि कार्य लगानी तथा सहुलियतपूर्ण कर्जामा आवद्ध हुन सहयोग गर्ने कार्यक्रम सहित बैदेशिक रोजगारमा जाने तथा फर्केका युवा लक्षित कार्यक्रम संचालन गर्न बहुउपयोगी परामर्श केन्द्र संचालन गर्ने जस्ता कार्यक्रम रहेको छ ।
खानेपानी तथा सरसफाइ नीतिहरुमा प्रत्येक घर परिवारमा एक घर एक धारा र एक चर्पी कार्यक्रम संचालन गर्ने, नगरलाई पूर्ण सरसफाइयुक्त नगर घोषणा गर्ने तथा सार्वजनिक शौचालय निर्माण गर्नेसम्मको कार्यक्रम रहेको छ । शहरी तथा शहर उन्मुख क्षेत्रमा ढल तथा फोहरमैला व्यवस्थापन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
उद्योग वाणिज्य सम्बन्धी नीतिहरुमा एक वडा एक उत्पादनमा जोड दिने कार्यक्रम ल्याईएको छ । संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीति बमोजिम नगरपालिका क्षेत्रको उपयुक्त स्थानमा औद्योगिक ग्रामको स्थापना, विकास र व्यवस्थापन सार्वजनिक निजी साँझेदारी ढाँचामा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पर्यटन विकास सम्बन्धी नीतिहरुमा पर्यटन गुरुयोजना निर्माण देखि पूर्वाधार तथा पर्यटकिय उपजहरु विकास गरी आन्तरिक पर्यटक प्रबद्र्धनसम्मका कार्यक्रम रहेको छ । हलेसी र बराहा क्षेत्र दर्शन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई यस नगरलाई महत्वपूर्ण माध्यम बनाउनुका साथै पर्यटकीय उपजहरु विकास गरी गुणस्तरीय पर्यटक भित्र्याउने र्काक्रम रहेको छ । होमस्टे संचालनदेखि स्थानीय पर्यटकीय महत्वका क्षेत्रको सौन्दर्यीकरण, नगर क्षेत्रको सौन्दर्यीकरण, सरसफाइ, अतिथि सत्कार सम्बन्धी सहभागीतामूलक कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ ।
आवास भवन तथा शहरी विकास सम्बन्धी नीतिहरुमा नगरको सिटी प्लान भएको हुने छ । भुकम्प प्रतिरोधात्मक घर निर्माण, नगर क्षेत्रभित्र पाँच वटा एकीकृत बस्ती विकास गर्ने कार्यक्रममा विपद प्रभावित, गरिव, अतिगरिब र दलित वर्गका गरिव नगरबासीलाई प्राथमिकता दिनेदेखि भु–उपयोग योजना तयार गरी कार्यान्वयनसम्मका योजनाहरु रहेको छ । कृषियोग्य जमिनमा बस्ती विकासलार्य निरुत्साहन गर्नेदेखि एकीकृत शहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्नेसम्मको कार्यक्रम रहेको छ ।
योजनाहरुमा नगरका कर्मचारीको मनोमानी

कार्यक्रममा नगर खासै महत्वपूर्ण नीति तथा कार्यक्रम नल्याएको कार्यक्रममा सहभागी जनप्रनिधिहरुले टिप्पणी गरेका छन् । केही जनप्रतिनिधिहरुले नागरिक बहस अनलाइनका पत्रकारसँग कुराकानी गर्दै नीति तथा कार्यक्रमहरु बढी महत्वकांक्षी कार्यक्रम भएकोले कति पुरा हुने कति नहुने इमान्दारितामा भर पर्ने बताए । उनीहरुका अनुसार नीति तथा कार्यक्रममा प्रस्तुत गरेका केही योजनाहरुमा दक्ष प्राविधिक जनशक्तिको अभाव र नगरपालिका भित्रको प्राविधिक र कर्मचारीहरुको मनोमानीले योजना सफल नहुने बताए । उनीहरुका अनुसार वडा कार्यालयले विनियोजन गरेको योजनाहरु सिधै नगरपालिकाको कर्मचारीहरुको हस्तक्षेप हुने गरेको आरोप लगाए । उनीहरुका अनुसार दुई वर्षको अन्तरालमा उपभोक्ता समितिहरुको गुनासो वडामा सहजै काम भएपनि नगरपालिकाको कर्मचारीहरुले दुःख दिने गरेको गरेको बताए । उपभोक्ता समितिलाई उध्रित गर्दै योजना सम्झौतादेखि निर्माण कार्य, अनुगमन लगायतका कामहरु ढिलासुस्ती एक दुई दिनमा हुने काम आधा महिनाभन्दा बढी लगाउने, कागजपत्र नमिलेको भन्दै अदालतले तारिख धाए जस्तै धाउनु पर्ने, नगरपालिकाका कर्मचारीहरु आफु अनुकुल काम गर्ने देखि योजनामा बार्गेनिङसम्मको हर्कत गर्ने गरेको आरोप लगाए ।
त्रियुगा नगरपालिका पछिल्लो समय विकसित हुँदै प्रमुख व्यापारीक केन्द्रको रुपमा कहलिदै गएको भन्दै त्यो जनभावना अनुरुप नीति तथा कार्यक्रम नल्याईएको निजी क्षेत्रको गुनासो छ ।
आगमी बजेट १ अर्व १ करोड ३० लाख हुने
त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को बजेट तथा नीति कार्यक्रम मंगलबार चौथो नगर सभामा पेश गरेको छ । ‘चौथो नगरसभाले नगर प्रमुख बलदेव चौधरीद्वारा आर्थिक वर्ष ०७६÷७७ का लागि अनुमानित शसर्त अनुदान तर्फ ३७ करोड ७३ लाख गरी १ अर्व १ करोड ३० लाख एक हजार रुपैयाको बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
गत वर्ष ९७ करोड ५२ लाख ९८ हजार रुपैयाँको बजेट भन्दा ३ करोड ५० लाख बढी हो । आम्दानीमा वित्तीय समानीकरणमा २१ करोड ५८ लाख रहेको छ । राजश्व वाँडफाँडमा १९ करोड ४ लाख, प्रदेश सरकार वित्तीय समानीकरणमा ८३ लाख ८८ हजार अनुमानित बजेट विनियोजन गरेको छ । आन्तरिक आयतर्फ नगरपालिकाले यो वर्ष ८ करोड ४ लाख १३ हजार विनियोजन गरेको छ । प्रदेश सरकार सवारी साधन करबाट १ करोड र स्थानीय संचित कोष वापत ५० लाख बजेट विनियोजन अनुमानित प्रस्तुत आय सभाले प्रस्तुत गरेको छ ।

तपाईको प्रतिक्रिया