उदयपुर । उदयपुरको एक महिलाको रहस्यमय मृत्यु पश्चात उनका श्रीमान पक्राउ परेका छन । कटारी नगरपालिका ७ देउलीकुनाकी ४५ वर्षिय चित्रकुमारी दर्लामी मगर असार ३ गते गम्भिर अवस्थामा जङ्गलमा फेला परेकी महिलाको उपचारको क्रममा मृत्यु भएपछि सोमबार उनका श्रीमान मिन बहादुर दर्लामी मगरलाई प्रहरीले पक्राउ गरिएको हो ।
मिन बहादुरको श्रीमति देउलीकुना नजिकैको जंगलमा गम्भिर घाइते अवस्थामा फेला पारि उपचारको लागि कटारी अस्पतालमा राखिएको थियो । तर, महिलाको अवस्था गम्भिर भएकोले थप उपचारको लागि विराटनगर रेफर गरेकै दिन उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।
माइती पक्षले श्रीमतिलाई श्रीमानको कुटपिटबाट मृत्यु भएको बताएका छन् । गाउँका केही व्यक्तिले जंगलमा घाँस दाउरा गर्न जाँदा भिरबाट लडेर घाइते भएको बताउँदै आएका छन् ।
इलाका प्रहरी कार्यलय कटारीका प्रमुख प्रेमसागर के.सी. का अनुसार घाइते अवस्थामा फेला परेको स्थानमा कुनै लड्ने खालको भिर पहरा नरहेको जानकारी दिए । उनका अनुसार श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु हुन सक्ने आशंका गरिएको छ । उनका अनुसार श्रीमतिलाई कुटपिट गरेर हत्या गरेको आरोपमा उनका श्रीमानलाई असार ९ गते सोमवार प्रहरीले नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानको लागि इप्रका कटारीमा रहेको जानकारी दिए ।









