विराटनगर / नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका दुई जना हतियार र गोलीसहित मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ परेका छन् ।

एक व्यापारीसँग चन्दा वापतको रकम उठाउन जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ घर भएका ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ घर भएका ३४ वर्षीय कन्सा माझी धिमाल रहेका छन् । पक्राउ परेका मध्ये राई ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी र धिमाल कार्यकर्ता हुन् । सरकारले ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएपछि उनीहरु भूमिगत थिए ।

पक्राउ परेकाहरुको साथबाट दुईवटा पेस्तोल, चारवटा म्यागजिन र १४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले ‘विप्लव’ समूहका दुई जना हतियारसहित पक्राउ परेको पुष्टि गरे । अधिकारीले पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान गर्ने काम भइरहेको बताउँदै सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।

हतियारसहित एक व्यापारीसँग माग गरिएको चन्दा असुल्न को १७ प ४५९६ नम्बरको मोटरसाइकलमा गइरहेका बेला इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईको नेत्रृत्वमा चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न सकेको हो । प्रहरीले ती व्यापारीको नाम र ठेगाना गोप्य राखेको छ । ‘विप्लव’ समूहले ती व्यापारीसँग केही समयदेखि ७ लाख रुपैयाँ चन्दा माग गरेको खुलेको छ । प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि व्यापारीसँग माग गरिएको चन्दा वापतको रकम उठाउन गएको खुलेको हो ।

तपाईको प्रतिक्रिया