इटहरी । एसओएस बालग्राम अन्तराष्ट्रियको ७० औं स्थापना दिवस एवं प्रा.डा हर्मंन माईनरको १०० औं जन्मजयन्तिको अवसरमा एसओएस बालग्राम इटहरीले सप्ताहव्यापी विभिन्न कार्यक्रमको आयोजना गरेर सम्पन्न भएको छ । प्रा.डा. हर्मन माइनरले युरोपको अष्ट्रियामा सन् १९४९ मा पहिलो एसओएस बालग्रामको स्थापना भएको थियो । यो विश्वको १३५ वटा देशमा फैलिएको छ । एसओएस अहिले “सबै बालबालिकाहरुको लागि मायालु घर” बन्न सफल भएको छ ।
विगत ४७ बर्षदेखि मानविय तथा प्राकृतिक प्रकोप आदि कारणले अभिभावकत्व गुमाएका तथा जोखिममा परेका बालबालिकाको संरक्षण र सम्बद्र्धनमा एसओएस बालग्रामले निरन्तर सहयोग गर्दै आएको छ । एसओएस बालग्राम इटहरी अन्तरगतका विभिन्न परियोजनाहरुले सप्ताह व्यपी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको थियो ।

एसओएस सामाजिक केन्द्रले समुदायलाई लाक्षित गरी गरी बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा इटहरी उपमहानगरपालिका १ नं. वडामा निःशुल्क आँखा जाँच शिविर संचालन गरेर करिव दुई जनाले प्रत्यक्ष लाभ लिएका थिए । आँखा जाँच गरेको मध्ये २२ जनाको मोतीयाविन्दुको निःशुल्क शल्यक्रिया गरियो । इटहरी नगरपालिका वडा नं. १ र १७ अन्तर्गतका विद्यालय स्तरीय हाीरी जवाफ प्रतियोगिता समेत संचालन गरिएको थियो । यस्तै वडा नं. १ कै ग्रामथानमा वृक्षारोपण समेत गरेको थियो ।
यस्तै एसओएस हर्मन माइनर विद्यालयले विद्यालय परिसरमा वृक्षारोपन, कक्षगत रुपमा विभिन्न अतिरिक्त क्रियाकलाप लगायत रक्तदान कार्यक्रम संगसंगै वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रविधिक सहयोगमा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरेको इटहरी बालग्रामका निर्देशक देव चरण चौधरीले बताए । उनका अनुसार रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका थिए भने दुई सय जना भन्दा बढी सर्वसाधारणको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको बताए । निःशुल्क स्वास्थ्य शिविरमा जनरल फिजिसियन, बालरोग, स्त्रीरोग तथा हाडजोर्नी सम्बन्धी परामर्श तथा उपचार गरिएको थियो भने विरामीलाई निःशुल्क औषधी वितरण गरिएको थियो ।
इटहरीको टेङग्रा खोला छेउमा रहेको उँ पिपल बोटे खुला विद्यालयका ५० जना बालबालिकाहरुलाई शैक्षिक समग्री वितरण गर्नुको साथै विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता समेत संचालन गरेको थियो । लोक नृत्य प्रतियोगितामा ब्राइट प्mयूचर बोर्डिङ्ग स्कुल प्रथम, एसओएस हर्मन माइनर विद्यालय दोस्रो स्थान, कविर माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गरेको थियो भने हिमशिखर बोर्डिङ्ग स्कुल सान्त्वना पुरस्कार पाएका थिए । उक्त प्रतियोगितामा इटहरी उपमहानगरपालिका भित्रका १४ वटा विद्यालय सहभागी भएका थिए ।
बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न १ नं प्रदेश स्तरीय बालगृहहरु बिच निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेकोमा बाल पुनःस्थापन केन्द्र धनकुटाकी सपना राई प्रथम भएकी थिईन् । एसओएस युवालय बिराटनगरले पनि सप्ताह व्यपी रुपमा विद्यालय केन्द्रित सामुदायिक सोवा कार्यक्रम, रक्तदान कार्यक्रम, शान्ती ¥याली, सरकारी विद्यालयमा बालसंरक्षण् सम्बन्धि अभिमुखिकरण कार्यक्रम तथा आन्तरिक खेलकुद कार्यक्रम समेत गरेको निर्देशक चौधरीले बताए ।

शिक्षा तथा बालबालिकाको क्षेत्रमा समाजमा अमुल्य योगदान गरेका मध्ये २०५१ साल देखि अनवरत रुपमा विपन्न बालबालिकाहरुलाई निःशुल्क ट्यूसन पढाउँदै आउनु भएका इटहरी ६ का चन्द्र भण्डारी, बिरटनगर निवासी युवा अभियन्ता वसन्त अधिकारी तथा समाजसेवी तथा शिक्षा अभियन्ता पुरन चौधरीलाई सम्मान गरेको छ । यस्तै बालबालिकालाई दिर्धकालिन संरक्षण प्रदान गर्दै अएको धरान अवस्थित सरस्वती बाल आश्रम र समुदायमा दृष्टि समास्या समाधान गर्दै सेवारत बिराटनगर आँखा अस्पताललाई सम्मन गरिएको निर्देशक चौधरीले बताए ।
एसओएस बालग्राम इटहरीले आप्mना विभिन्न परियोजनामा २५ वर्ष भन्दा बढी सेवा गरिसकेका २५ जना कर्मचारी, एसओएस आमा, शिक्षक शिक्षिकालाई समेत सम्मान गरेको थियो । समापन समारोह एसओएस बालग्राम इटहरीका निर्देशक श्री देव चरण चौधरीको सभापतित्वमा तथा प्रदेश नं. १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समापन कार्यक्रममा प्रदेश सभा सदस्य तथा प्रकृतिक श्रोत तथा भौतिक पूर्वाधार सभापती सर्वध्वज साँवा, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

नेपालमा सन् १९७२ मा भक्तपुरको सानोठिमीमा पहिलो बालग्रामा स्थापना संगै नेपाल अधिराज्य भरी १० वटा बालग्रामहरु संचालनमा रहेका छन् । यसले विगत ४७ बर्षदेखि मानविय तथा प्राकृतिक प्रकोप आदि कारणले अभिभावकत्व गुमाएका तथा जोखीममा परेका बालबालिकाको संरक्षण र सम्बर्धनमा एसओएस बालग्रामले निरन्तर सहयोग गर्दै आएको छ ।
एसओएस बालग्रामको लागि सन् २०१९ अति हर्षोल्लासको वर्षको रुपमा रहेको छ । संसार भरीका एसओएस बालग्रामहरु एसओएस बालग्रामको ७० औं स्थापना दिवस तथा यसका संस्थापक पिता प्रोफेसर डाक्टर हर्मन माइनरको १०० औं जन्मोत्सव मनाई रहेका छन् ।
देशभित्र अझैपनि लाखौं बालबालिका अभिभावक विहिन अवस्थामा छन् । त्यसैले एसओएस बालग्राम नेपालले आफ्ना विभिन्न कार्यक्रम मार्फत सन् २०२५ सम्ममा पैंत्तिस हजार र सन् २०३० सम्ममा पचास हजार बालबालिकासम्म आफ्नो सेवा पुर्याउने लक्ष्य लिएको छ । यो कार्यक्रमहरु सञ्चालन गर्न एसओएस बालग्राम अन्तर्राष्ट्रिय मार्फत युरोपका संघसंस्था र व्यक्तिहरुले सहयोग पुर्याउनु भएको छ । विदेशबाट आउने सहयोग भरपर्दो, स्थायी र पर्याप्त नहुनाले जोखिममा परेका बालबालिकाको हितका खातिर नेपाल सरकारका विभिन्न निकाय, व्यावसायिक घराना, एउटै प्रकृत्तिका संस्था अन्य संघसंस्था तथा दयालु महानुभावहरुसंग सहकार्यको लागि तत्पर रहेको छ । यस अभियानमा एसओएस बालग्रामलाई सहयोग पुर्याई बढि भन्दा बढि जोखिममा परेका बालबालिकामा उज्वल भविष्यको आशा बनाईदिनु सवैमा अनुरोध गरेको छ ।













