उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा गत बुधबार ज्यामिरे दोभानबाट हराई रहेका दुई विद्यार्थी फेला परेका छैनन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षिय आशन राई (देव कुमार) र १३ वर्षिय प्रविन राई माछा मार्ने क्रममा ज्यामिरे दोभानमा पुगेपछि सुनकोशी नदीमा डुवेर वेपत्ता भएको थियो ।
शव फेला नपरेपछि आफन्तले कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार तीन दिनसम्म पनि लाश फेला नपर्दा शनिबार कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरेको बताए ।
उनका अनुसार कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरेपनि हाम्रो प्रहरी टोली ठाउँ ठाउँमा खोजी कार्यमा जारी रहेको बताए । उनका अनुसार वेपत्ताको खोजीका लागि ज्यामिरे दोभान देखि सुनसरीको चतरासम्मका उदयपुरसहित छिमेकी जिल्ला खोटाङ, भोजपुर र सुनसरीका मताहतका प्रहरी ईकाईहरु पनि परिचालन गरिरहेका जानकारी दिए ।
आसन (देवकुमार) एसइई दिएर बसेका विद्यार्थी हुन भने प्रविन कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।









