उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ घनचक्रे स्थित इद्रावती आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न, रुने कराउने, दारा किच्ने, चिच्याउन, थरथर काप्न रोग अझै नियन्त्रणमा आउन सकेको छैन् । गत जेष्ठ २ गतेबाट देखा परेको सो अज्ञात रोगले ९ जना विद्यार्थी मुर्छा पर्ने, रुने, कराउने चिच्याउने, धामी जस्तै खेल्ने, पुरै बेहोस नहुने, मुठ्ठी बाँध्ने लगायतका कार्य गर्ने रोग अझै नियन्त्रणमा आउन सकेको छैन् ।
अज्ञात रोगका कारण गत जेष्ठ २० गतेबाट विद्यालयको पठन पाठन एक हप्ताको लागि बन्द गरिएको थियो । विद्यालय बन्द भएपछि केही विद्यार्थीमा सुधार आएपनि दुई जनामा अझै सो रोग देखा पर्ने गरेको विद्यालयका प्रधानाध्यापक नेत्र काफ्लेले बताए । प्रधानाध्यापकका अनुसार कक्षा ३ मा अध्ययनरत ७ वर्षिय रितु तामाङ र कक्षा ५ मा अध्ययनरत १० वर्षिय समिर राउतमा अझै मुर्छा पर्ने, व्युझिएपछि उफ्रिने, रुने कराउने लगायतको लक्ष्ण देखा परिरहेको छ ।

यहि रोगबाट कक्षा २ मा अध्यनरत ६ वर्षिय सकुन्तला तामाङबाट यो रोग देखा परेपछि एकाएक ९ जनासम्म विद्यार्थी मुर्छा पर्ने, अर्ध व्यहोस हुने, रुने कराउने गरेको थियो । यस्तै कक्षा ५ मा पढ्ने १० वर्षिय टिका कुमारी तामाङ, कक्षा ४ मा अध्ययनरत टेक बहादुर विक, कक्षा १ मा अध्ययनरत सर्मिला तामाङ, कक्षा ३ मा अध्ययनरत कौशिला खत्री, वर्षा तामाङ र सारिका तामाङ रहेका थिए ।
प्रअका अनुसार पढ्दै गरेका विद्यार्थी एक्कासि मुर्छा पर्ने, ब्युँझिएपछि विद्यार्थीको टाउको र हातखुट्टा दुख्ने, रिङ्गटा लाग्ने र रुने कराउने जस्ता लक्षण अझै पनि देखिने गरेको छ ।
‘विद्यालय वा घरमा हुने तनावका कारण यस्तो समस्या देखिने गर्छ’, उपचारमा संलग्न जिल्ला अस्पताल उदयपुरका डा. असोक तिवारीले जानकारी दिए । उनका अनुसार एक जनामा यस्तो समस्या देखिए त्यस्तो बिरामीलाई छुट्टै बसाल्ने व्यवस्था गरे अरूमा सर्दैन । ‘एक जनाको समस्या देखेपछि अरू पनि त्यसबाट प्रभावित हुने गरेको पाइएको छ’, डा. तिवारीले भने । धेरैजना जमघट हुने स्थानमा यो समस्या धेरैलाई सर्ने गर्दछ । डा. तिवारीले भने, ‘धेरै विद्यार्थीमा एकै पटक यस्तो समस्या देखिने भएकाले यसलाई डिस अर्डर ‘मास हिस्टेरिया’ को क्याटागोरी भित्रकै रोग हो ।’ विद्यालयमा बढी होमवर्क र घरमा अभिभावकको पढ् पढ भनि रहँदा विद्यार्थीमा मानसिक तनाव हुने गरेकोले यस्तो रोग देखा पर्ने गरेको छ । यस विद्यालयमा ७३ जना बालबालिका अध्ययनरत छन् । उनीहरुको उमेर बढीमा ११ बर्ष भन्दा माथि नभएको एक शिक्षकले जानकारी गराए ।

यो पनि पढ्नुस्

उदयपुरमा विद्यार्थी काँप्ने, मुर्छा पर्न थालेपछि विद्यालय बन्द (तस्विर सहित)

तपाईको प्रतिक्रिया